प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई गरेको नियुक्ति सय प्रतिशत गलत छ : महावीर पुन

काठमाडौं। पूर्व शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेर कमाएको ऐतिहासिक इज्जत धुलोमा मिलाएको टिप्पणी गरेका छन् ।

हालै सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुनले प्रधानमन्त्रीले गरेको नियुक्तीप्रति असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठलाई प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउनका लागि भएपनि उक्त पद स्वीकार नगर्न सामाजिक सञ्जालमार्फत आग्रह समेत गरेका छन्। उनले उक्त नियुक्ति सय प्रतिशत गलत भएको बताउदै प्रधानमन्त्रीले जाँदाजाँदै लाभको पद दिएको टिप्पणी गरेका छन् ।

नातावाद, चाकरीवाद, कृपावाद र चापलुसीवादका कारण पुराना दलहरू कमजोर भएको स्मरण गराउदै पुनले यस्तै प्रवृत्ति दोहोरिए नयाँ दलहरू पनि भविष्यमा समाप्त हुन सक्ने चेतावनी समेत दिएका छन्। साथै उनले उक्त नियुक्तिबारे आउने सरकारले विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सिन्धुली स्थायी घर भएका श्रेष्ठलाई आगामी पाँच वर्षको लागि अध्यक्षमा मनोनित गरिएको हो । कोषको संरक्षकमा भने प्रधानमन्त्री आँफै रहने व्यवस्था छ ।

उनले लेखेका छन्, प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकिय सचिव आदर्श श्रेष्ठ लाई गरेको नियुक्ती १०० प्रतिशत गलत हो । आर्दश भाई, प्रधान मन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ । यस्तै किसिमको नातावाद, चाकरीवाज, कृपावाद, चापलुसीवादले पुराना दलहरु खतम भए । यहि पाराले काम गर्ने हो भने नयाँ दलहरु पनि कालान्तरमा मासिन्छन् । होसियार गर्ने म छु । त्यो नियुक्ती अव आउने सरकारले बुद्धि पुऱ्याएर गरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *