काठमाडौं । मुलुकका बैंकिङ क्षेत्र नै जोमिमा पर्ने गरी शंकर ग्रुपको जगदम्बा स्टील कम्पनीलाई अर्बौं कर्जा सुविधा प्रदान गरिएको पाइएको छ । देशका २६ वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल ४८ खर्ब कर्जामध्ये करिब ४० प्रतिशत कर्जा सुविधा शंकर ग्रुप जस्ता सीमित व्यापारिक घरानाले उपभोग गरिरहेका पाइएको छ ।
वाणिज्य बैंकहरुबाट सबैभन्दा बढी ५५ अर्ब ४७ करोड, १६ लाख ५३ हजार ५१० ऋण लिनेमा शंकर ग्रुपको जगदम्बा स्टील रहेको तथ्यांक प्राप्त भएको छ । उक्त कम्पनीका मालिक शंकरलाल अग्रवाल हुन् । जब कि नेपालमा उनको कुल सम्पत्ति ३० अर्ब भन्दा माथि नरहेको स्रोतको दावी छ ।
नेपालमा सर्वसाधारणले बैंकबाट ऋण लिन आफूले लिन लागिएको ऋणभन्दा करिब दुईगुणा बढी मूल्य पर्ने जिन्सी चिज राख्नुपर्छ भने अनेक सास्ती खेप्नुपर्छ । तर शंकरलाल अग्रवालले उनीसँग रहेको कूल सम्पत्तिभन्दा झन्डै दोब्बर कर्जा कसरी प्राप्त गरे भन्ने रहस्यको विषय बनेको छ । कहाँको कुन सम्पत्ति धितो राखेर निजलाई ऋण दिइएको हो भन्ने प्रश्न यहाँ स्वभाविक रुपमा उठ्छ ।
कर्जा सुविधा प्राप्त गर्नेमा शंकर ग्रुपसहित अधिकाङ्श कम्पनीहरू मारवाडी व्यापारीकै स्वामित्वको भएको पाइएको छ । बैंकहरुले प्रवाह गर्ने कर्जा सुविधामा उनीहरुले कब्जा जमाउँदा सर्वसाधारणले ऋण पाउँदै नपाउने, पाए पनि अनेक सास्ती खेप्नुपर्ने अवस्था सृजना भएको छ ।
कुल २६ मध्ये २२ वाणिज्य बैंकहरू दलाल पूँजीपति वर्गका मानिसबाट सञ्चालित छन् र, विभिन्न नामका कम्पनी खोलेर तिनले आफ्नो लगानीको बैंकबाट चाहेजति ऋण लिँदै आएका पाइएको छ । यी सीमित घरानाले उपभोग गरिरहेका २५ खर्ब रुपैयाँ ऋण सरल र सहज तरिकाले सर्वसाधारणलाई उपलब्ध गराइएको खण्डमा पाँच लाख नेपाली व्यवसायी लाभान्वित हुन सक्छन् । तर यस्तो कर्जा सुविधा सीमित व्यापारिक समूहको कब्जामा पर्दा यसबाट मुलुकको आर्थिक अवस्था थप संकटतिर मोडिने जोखिम बढेको अर्थशास्त्रीहरुको ठहर छ ।
सीमित घरानाका यी व्यापारिक समूहले बैंकबाट सर्वसाधारणको अर्बौं रकम ऋणका रुपमा लिएर उद्योग खोल्ने, वीमा कम्पनी खोलेर आफैंले आफ्नो उद्योग या स्टोरमा आगो लगाउने र आफ्नै वीमा कम्पनीबाट परल मूल्यभन्दा तेब्बर नगद असुली गर्ने गरेकोले उनीहरुमाथि छनबिन आवश्यक देखिएको अर्थविद्हरु बताउँछन् । उनीहरुलाई नेपालमा आर्जेका रकम विदेशमा पुर्याएर थन्क्याउने गरेको आरोप समेत लाग्ने गरेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ सन्जाल