कांग्रेसलाई जगैदेखि बदल्छाैं, १०० पालिकामा महिला नेतृत्वको तयारीमा छाैं: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्ने संकल्प गर्दै आगामी निर्वाचनमा थारु समुदाय र महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने घोषणा गरेका छन्।

शनिबार राजधानीमा आयोजित ‘नेपाल थारु संघ’ को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसभित्र अनुहार मात्र नभई सोच र कार्यशैली नै बदल्नुपर्ने आवश्यकता रहेको औंल्याए।

सभापति थापाले पार्टीको रुपान्तरण विगतका कमजोरीहरू सुधार्ने र असल कार्यको रक्षा गर्ने अभियान भएको बताए।

‘कांग्रेस बदलिने भनेको अनुहार बदल्ने मात्र होइन, नयाँ संकल्प र सोचका साथ काम गर्ने हो,’ उनले भने, ‘विगतका सत्कर्मबाट प्रेरणा लिने र कुकर्महरूलाई त्याग्दै अघि बढ्नु नै अहिलेको मुख्य कार्यभार हो।’

उनले थारु संघलाई पार्टीको एउटा अंग मात्र नभई साझेदारी संस्था (पार्टनर) को रुपमा अघि बढ्न आग्रह गरे।

थारु समुदायलाई नेपालको ‘धर्तीपुत्र’ र प्रजातान्त्रिक आन्दोलनको खम्बा भएको बताउँदै थापाले पार्टी निर्माणमा यो समुदायको योगदान अतुलनीय रहेको चर्चा गरे।

उनले राधाकृष्ण थारु, परशुनारायण चौधरीदेखि वर्तमान नेतृत्वसम्मको नाम स्मरण गर्दै भने, ‘थारु समुदायले नेपालको राष्ट्रिय एकता र अखण्डता रक्षाका लागि अग्रमोर्चामा रहेर काम गरेको छ। अबको संविधान संशोधनको बहस र थारु अधिकारका सवालमा पनि यो संघले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ।’

आगामी चुनावी रणनीतिबारे बोल्दै सभापति थापाले ७ सय ५३ स्थानीय तहमध्ये कम्तीमा १०० वटा पालिकामा नेपाली कांग्रेसको तर्फबाट महिलालाई प्रमुख वा अध्यक्षको उम्मेदवार बनाउने लक्ष्य रहेको सुनाए।

यसका लागि पार्टीले ‘लिडरसिप एकेडेमी’ स्थापना गरेको र उम्मेदवार बन्न चाहनेले अनिवार्य रुपमा उक्त एकेडेमीको कोर्स पूरा गर्नुपर्ने वैधानिक व्यवस्था गरिने उनको भनाइ थियो। उनले थारु समुदायमा कांग्रेसको क्रियाशील सदस्यताको अनुपात बढाउनुपर्नेमा जोड दिए।

‘थारु समुदायबाट कम्तीमा ५ प्रतिशत क्रियाशील सदस्य थप्ने लक्ष्य लिएर गाउँ–गाउँ पुग्नुस्,’ उनले थपे, ‘विशेषगरी ३० वर्षमुनिका युवा र महिलाहरूलाई पार्टीको मूलधारमा ल्याउन आवश्यक छ।’

यस्तै, थारु समुदायमा रहेको सिकलसेल एनेमियाको समस्या समाधान र जेहेन्दार विद्यार्थीको शिक्षाका लागि संघले सामाजिक अभियान नै चलाउनुपर्नेमा उनले जोड दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *