जगदम्बा स्टीलको दादागिरी : सडकमै अव्यवस्थित पार्किङ, ट्राफिक प्रहरी मुकदर्शक [भाग-१]

काठमाडौं । शंकर ग्रुपको जगदम्बा स्टीलले बारा सिमरास्थित वीरगंज–पथलैया सडक नै कब्जा गरेर जथाभावी पार्किङ गर्ने गरेको छ । विगत लामो समययता सिमरास्थित जगदम्बा स्टिल उद्योगले ६ लेनको सडकमा ठूला सवारी साधन अव्यवस्थित रुपमा पार्किङ गर्दै आएको छ ।

यहाँ अचम्मको कुरा त के छने भने– सर्वसाधारणले सडकको छेउमा केही मिनेटका लागि मोटरसाइकल पार्किङ गर्ने बितिक्कै जरिवाना गराउने ट्राफिक प्रहरीसमेत जगदम्बाको यो बदमासीप्रति मुकदर्शक बनेको छ । विगतमा पनि कर छली गरेको, गुणस्तरहीन सामाग्री उत्पादन गरेको जस्ता आरोप खेपेको जगदम्बा स्टीलका अध्यक्ष शंकरलाल अग्रवाल हुन् भने उपाध्यक्ष सुलभ अग्रवाल र शाहिल अग्रवाल प्रबन्ध निर्देशक हुन् ।

विगतमा यस्ता विभिन्न आरोप लगोका जगदम्बाले अहिले वीरगंज पथलैया सडक नै कब्जा गरेर ठूला सवारी साधन पार्किङ गर्ने गरेको हो । सार्वजनिक स्थलमा त्यसमाथि पनि ‘नो पार्किङ’ भनेर ट्राफिक चिन्ह राखिएको ठाउँमा नै अटेरी गर्दै जगदम्बाले सवारी पार्किङ गर्दै आएको छ । जगदम्बाले आफ्नो निजी पार्किङ स्थल जस्तै गरेर लामो समयदेखि सडकलाई पार्किङ स्थलका रुपमा प्रयोग गर्दै आएको सिमराका सर्वसाधरण तथा नियममित आवतजावत गर्ने यात्रुहरुले अर्थसंजालसँग बताएका छन् ।

के भन्छ ट्राफिक प्रहरी ?

ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशले सडकमा अव्यवस्थित रुपमा कसैले सवारी साधन पार्किङ गर्न नपाउने बताए पनि जगदम्बाविरुद्ध एक्सन लिने आँट गरेको छैन । ट्राफिक प्रहरी मधेश प्रदेशका एसपी नान्तीराज गुरुङले त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको भनेर पटक पटक भने पनि अहिलेसम्म त्यो समस्या उस्तै छ ।

यस विषयलाई स्थानीय मिडियाहरुले पनि पटक पटक उठाइरहेका छन्, तर जगदम्बाको बदमासी रोकिएको छैन भने प्रहरी मुकदर्शक नै छ । स्थानीय मिडियाहरुको रिपोर्ट अनुसार ट्राफिक प्रहरीले उल्टै उद्योगलाई परोक्ष ढंगबाट साथ दिइरहेको छ । ‘कतिपय अवस्थामा उद्योगको एकैचोटी ठूलो संख्यामा गाडीहरु आउँछन् । एउटा गाडि भित्र लगेर बाहिर ननिकालुन्जेलसम्म अरुले क्यूमा बस्नुपर्ने हुन सक्छ’, एसपी गुरुङलाई उदृत गर्दै स्थानीय मिडियाको रिपोर्टमा भनिएको छ, ‘आवागमनमा समस्या हुने गरी रोकिएको भए हामी तत्काल नै एक्सन लिन्छौं ।’

तर जगदम्बा स्टील उद्योग अगाडिको पार्किङ सवारी बाहिरीने वा प्रवेश गर्नका लागि लाइनमा बसेका होइनन् । कुनै दिन बिहान पार्किङ गरिएका सवारी रातिसम्म रहन्छन् भने एउटा हटेपनि अर्को फेरि त्यहीँ सडकमा ल्याएर पार्किङ गर्ने गरिएको स्थानीय स्रोतले बताएको छ । स्रोतका अनुसार ट्राफिक प्रहरीले एक्सन लिन्छौं भनेको एक महिना भन्दा बढी भइसक्दा समेत समस्या ज्युँका त्युँ नै रहेको छ ।

यो पनि पढ्नुहोस्

पहुँच र पैसाको आडमा सर्वोत्तम स्टीलको रजाइँ, उद्योगमा कार्यरत मजदुर मृत्युको घटना सामसुमदेखि अवैध कारोबारसम्म

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *