काठमाडौं । ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पताल र विभिन्न व्यक्तिका नाममा रहेको करीब ४० रोपनी जमीन बिक्री भएको छ ।
उच्च स्रोतका अनुसार सुमेरु अस्पताललाई चौधरी ग्रुपले किनेको हो । यद्यपि, अस्पतालका मालिक भरत महर्जनले अस्पताल बिक्री गरेको भन्दा पनि चौधरी ग्रुपलाई व्यवस्थापनको जिम्मेवारी दिएको आफू निकटका व्यक्तिहरूसँग बताउने गरेका छन् ।
सुमेरु अस्पताललाई सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले सञ्चालन गर्दै आएको दाबी गरिएको थियो । अस्पतालसँगै महर्जनले ४० रोपनी जमीन पनि बिक्री गरेको समाचार बाहिरिएपछि सहकारीका निक्षेपकर्ताहरू झस्किएका छन् ।
सुमेरुको अध्यक्ष महर्जन छैनन् । तर, आफू निकटका व्यक्तिलाई अध्यक्ष बनाएर हालिमुहाली गर्दै आएका छन् । सुमेरु को–अपरेटिभको पैसा महर्जनले विभिन्न जालझेल र हर्कत गरेर लगानी गरेको बुझिएको छ । सुमेरु ग्रुप र सहकारीको पैसाका विषयमा सहकारी बोर्ड, सीआईबी र अख्तियारले फाइलहरू कब्जा गरेर अनुसन्धान गर्ने हो भने सबै खुल्नेछ ।
सुमेरु ग्रुपका नाममा विभिन्न एक दर्जन संस्थाहरू सञ्चालनमा छन् ।
बिगत २–३ वर्षदेखि सुमेरु आर्थिक संकटमा रहेको आरोप छ । सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले निक्षेपकर्ताको पैसा पनि फिर्ता गर्न सकिरहेको छैन । मोटो रकम सुमेरुमा राखेका धेरै निक्षेपकर्ताहरूले पैसा नपाएको भनेर गुनासाहरू गरिरहेका छन् ।
वित्तीय क्षेत्रमा समस्या परेका बेला सुमेरु पनि संकटमा छ । पैसा फिर्ता गर्न सकेको छैन ।
महर्जनले सुमेरु अस्पताल र महर्जनको नाम र आफन्तको नाममा रहेको झण्डै ४० रोपनी जमीन करीव एक अर्ब रुपियाँमा चौधरी ग्रुपलाई बिक्री गरेको चर्चा छ ।
सुमेरु अस्पतालसँगै र महर्जन र उनका आफन्तको नाममा रहेको ४० रोपनी जमीन खरिदमा सुमेरु सहकारीको पैसा घुमाउरो भाषामा लगानी गरेको आरोप छ । महर्जनले आफू निकटका व्यक्ति र आफन्तको नाममा अस्पताल, जमीन, विभिन्न कम्पनीका नाममा राखेको आरोप छ ।
यस विषयमा प्रतिक्रिया लिन सुमेरु सहकारीका प्रतिनिधिसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
अर्थ सन्जाल