नागरिक लगानी कोषको नाफा सामान्य बढ्यो, ब्याज आम्दानी र प्रतिफल दर दुवै घट्यो

काठमाडौं । नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि भएको छ। कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३१ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कोषले ३१ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कोषको कुल आम्दानी ५५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५३ करोड ७२ लाख रुपैयाँ थियो। कोषको आम्दानीमा मुख्य योगदान रहेको सेवा शुल्क तथा कमिसन आम्दानी बढेर ४६ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

तर, कोषको ब्याज आम्दानी भने उल्लेख्य घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको कोषले चालु वर्षको सोही अवधिमा ५ करोड ८२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ।

आम्दानीमा सामान्य वृद्धि भए पनि कोषको खर्च बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ११ करोड ७९ लाख रुपैयाँ रहेको कुल खर्च चालु वर्षको सोही अवधिमा बढेर १३ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

यसैबीच कोषको कुल स्रोतमा उल्लेख्य विस्तार भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ३ खर्ब १९ अर्ब १५ करोड रुपैयाँ रहेको कुल स्रोत चालु वर्षको सोही अवधिमा बढेर ३ खर्ब ८२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कोषको कुल लगानी ३ खर्ब ४२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

कोषको नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १९ रुपैयाँ ४० पैसा रहेको ईपीएस चालु वर्षको सोही अवधिमा घटेर १८ रुपैयाँ ५८ पैसा कायम भएको छ।

त्यस्तै, प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८ पैसाबाट घटेर १५७ रुपैयाँ ११ पैसा पुगेको छ। कोषको लगानीबाट प्राप्त प्रतिफल दरसमेत गत आर्थिक वर्षको ४.८१ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *