काठमाडौं । मदिरा उत्पादक कम्पनी हिमालयन डिष्टिलरी लिमिटेडको खुद नाफा एक वर्षमा १३८ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २१ करोड ४९ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ९ करोड २ लाख ५८ हजार रुपैयाँ थियो।
कम्पनीको कारोबार विस्तारसँगै बिक्री आम्दानी र सञ्चालन नाफामा भएको वृद्धिले खुद नाफा बढाएको हो। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७६ करोड २८ लाख ६३ हजार रुपैयाँको कुल कारोबार गरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो कारोबार १ अर्ब ७ करोड ५७ लाख ८८ हजार रुपैयाँ थियो।
त्यस्तै, अन्तःशुल्क कट्टीपछिको खुद बिक्री आम्दानी ५९ करोड ३३ लाख रुपैयाँबाट बढेर ९१ करोड २८ लाख २० हजार रुपैयाँ पुगेको छ। कारोबार र बिक्री आम्दानीमा भएको वृद्धिको प्रभाव सञ्चालन नाफामा पनि देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा १२ करोड ५७ लाख ९१ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष बढेर ३३ करोड ८५ लाख ४५ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको कुल नाफा ६० करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले १० करोड ६३ लाख ८५ हजार रुपैयाँ आयकर तिरेको वित्तीय विवरणमा उल्लेख छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँ ७९ पैसाबाट बढेर २३ रुपैयाँ ३२ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४९ पैसा रहेको छ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ छ। जगेडा तथा सञ्चित कोषमा १ अर्ब ७५ करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको कुल सम्पत्ति ६ अर्ब २९ करोड ४६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीको तरलता अनुपात ६.३६ रहेको वित्तीय विवरणले देखाएको छ।





