काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा घटे पनि जीवन बीमा कोष, बीमाशुल्क आर्जन र कुल आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २२ करोड ९० लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ८५ लाख २ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार कम्पनीको नाफा ११.३९ प्रतिशतले घटेको हो ।
कम्पनीको जीवन बीमा कोष भने ३५.६१ प्रतिशतले बढेर १९ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस्तो कोषमा १४ अर्ब ३१ करोड २३ लाख २९ हजार रुपैयाँ सञ्चित थियो ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क २३.८५ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ४ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६७ करोड ९१ लाख ९६ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा २ अर्ब ३३ करोड ६५ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३९.१५ प्रतिशत बढी हो ।
यसैगरी, कर्जा तथा लगानीबाट प्राप्त आम्दानी १७.४३ प्रतिशतले बढेर ४० करोड ३४ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३४ करोड ३५ लाख २७ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङ पनि १.३६ प्रतिशतले बढेर ८२ करोड ४५ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ८१ करोड ३४ लाख ३९ हजार रुपैयाँ थियो ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने विपत्ति जगेडा कोषमा २८ करोड ७४ लाख १ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा कम्पनीले ४५ करोड ५९ लाख २४ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ७२ लाख ६९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीको यस्तो खर्च ३९.३१ प्रतिशतले बढेको हो ।
त्यस्तै, कम्पनीको कमिसन खर्च पनि २०.८७ प्रतिशतले बढेर १६ करोड ५८ लाख २० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कमिसन खर्च १३ करोड ७१ लाख ९४ हजार रुपैयाँ थियो ।
व्यवसाय विस्तार र आम्दानीका सूचकमा सुधार देखिए पनि बढ्दो खर्च तथा अन्य वित्तीय प्रभावका बीच कम्पनीको नाफा भने घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समेत १९ रुपैयाँ ९० पैसाबाट घटेर १७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।





