सूर्यज्योति लाइफको नाफा १५.९५ प्रतिशत घट्यो, खर्च र दाबी भुक्तानी बढ्दा दबाब

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १५.९५ प्रतिशतले घटेको छ। कम्पनीको आम्दानी बढे पनि खर्च र दाबी भुक्तानीको वृद्धिदर उच्च हुँदा नाफामा गिरावट आएको हो।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १० करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १९.१८ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ। जबकि कुल आम्दानी भने १७.५५ प्रतिशतले मात्रै बढेर ४ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। आम्दानीको तुलनामा खर्चको वृद्धिदर बढी हुँदा कम्पनीको नाफा खुम्चिएको देखिन्छ।

कम्पनीको कुल दाबी भुक्तानी २०.९३ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड ७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अभिकर्ता कमिसन खर्चमा पनि उच्च वृद्धि देखिएको छ। यस्तो खर्च ३२.०७ प्रतिशतले बढेर २८ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ ७८ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ८ रुपैयाँ २२ पैसामा सीमित भएको छ।

यता, कम्पनीको खुद बीमाशुल्क आर्जन भने २१.२८ प्रतिशतले बढेर ३ अर्ब ५४ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आर्जन २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ थियो।

त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी ५.८३ प्रतिशतले बढेर ९४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जीवन बीमा कोष पनि २३.७४ प्रतिशतले वृद्धि भएर ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको असोज मसान्तसम्म यस्तो कोष ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ थियो।

कम्पनीको विपत्ति कोष २.०९ प्रतिशत र जगेडा तथा सञ्चित आम्दानी ११.७८ प्रतिशतले बढेको छ। यद्यपि, बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा भएको वृद्धिले नाफा बढाउन सकेको छैन। खर्च तथा दाबी भुक्तानीको बढ्दो भारले कम्पनीको वित्तीय विवरणमा दबाब सिर्जना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *