सिटिजन लाइफको नाफा २३.९० प्रतिशत घट्यो, ईपीएस पनि ८ रुपैयाँमा खुम्चियो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३.९० प्रतिशतले घटेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले असोज मसान्तसम्म १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल आम्दानी भने १३.०८ प्रतिशतले बढेर ३ अर्ब ७ करोड २ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ थियो।

तर, आम्दानीको तुलनामा खर्चको वृद्धिदर बढी देखिएको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १४.९६ प्रतिशतले बढेर २ अर्ब ९७ करोड २ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल खर्च २ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ थियो। आम्दानीभन्दा खर्चको वृद्धिदर बढी हुँदा कम्पनीको नाफामा दबाब परेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १६.८२ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै समिक्षा अवधिमा कर्जा तथा लगानीबाट प्राप्त आम्दानी पनि घटेको छ। यस्तो आम्दानी ०.७३ प्रतिशतले घटेर ५४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले कर्जा तथा लगानीबाट ५४ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा भने उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको सोही अवधिमा ३५.०७ प्रतिशतले बढेर २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी , कम्पनीको महाविपत्ति कोष ३.७१ प्रतिशतले बढेर २७ करोड ९४ लाख रुपैयाँ पुगेको छ। सञ्चित मुनाफा पनि १७.८१ प्रतिशतले वृद्धि भएर ५८ करोड ७० लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको अभिकर्ता कमिसन खर्च १४.९४ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ। नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० रुपैयाँ ५२ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ८ रुपैयाँ १ पैसामा झरेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५० पैसा रहेको छ भने चुक्ता पुँजी ५ अर्ब रुपैयाँमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *