काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २८.७४ प्रतिशतले घटेको हो ।
वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफामा गिरावट आए पनि कम्पनीको बीमाशुल्क आर्जन र जीवन बीमा कोषको आकारमा वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले १४ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको असोजसम्म कम्पनीले १३ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १० प्रतिशतले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ ।
९ अर्ब ४८ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा १ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९२ करोड ८६ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ८९ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, अघिल्लो वर्ष असार मसान्तसम्ममा महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रुपैयाँ थियो।
चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ८६ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा २ खर्ब ४५ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ४८ पैसा कायम भएको छ। पीई रेसियो ११४.६५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७८ पैसा रहेको छ।




