साइबर ठगी नियन्त्रण गर्न २४सै घण्टा सम्पर्क अधिकृत तोक्न राष्ट्र बैंकको नियामकीय निर्देशन

काठमाडौं । बढ्दो वित्तीय साइबर ठगी नियन्त्रण तथा यस्ता घटनामा तत्काल प्रतिकार्य गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकलाई २४सै घण्टा उपलब्ध हुने गरी सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायकलाई यस्तो निर्देशन दिएको हो।

गृह मन्त्रालयको निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र कार्य सञ्चालनसम्बन्धी दिग्दर्शन’ कार्यान्वयनका लागि नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय र सहकार्य गर्न सम्पर्क अधिकृत तोक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

उक्त केन्द्रमा वाणिज्य बैंकहरू, ई–सेवा र खल्ती भौतिक रूपमै समन्वयमा रहने व्यवस्था रहेकाले अन्य विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सेवाप्रदायकलाई सम्पर्क अधिकृत तोक्न निर्देशन दिइएको हो।

राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई साइबर अपराध अनुसन्धान तथा तत्काल प्रतिकार्यका लागि २४सै घण्टा सम्पर्कमा रहन सक्ने कर्मचारीको नाम, थर, फोन नम्बर र कार्यालयको इमेल ठेगाना विभागको आधिकारिक इमेलमा तत्काल उपलब्ध गराउन भनेको छ।

डिजिटल भुक्तानीको विस्तारसँगै अनलाइन ठगी, बैंक खाता ह्याकिङ तथा अवैध रूपमा रकम स्थानान्तरणका घटना बढिरहेका बेला प्रहरी र वित्तीय क्षेत्रबीच समन्वय प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको हो। यसबाट साइबर ठगीका घटनामा तत्काल सूचना आदानप्रदान, शंकास्पद रकम रोक्का तथा पीडितको रकम फिर्ता गर्ने प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *