काठमाडौं । नेपालको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल) ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ।
आधुनिक समयमा वित्तीय क्षेत्रमा एआईको तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, डेटा गोपनीयताका जटिल चुनौती तथा नियमनकारी मापदण्डको पालनालाई व्यवस्थित र न्यूनीकरण गर्ने उद्देश्यसहित यो अनुसन्धान अनुदान कार्यक्रम ल्याइएको हो।
संस्थाले अनुसन्धान, नियमनकारी निकाय र वित्तीय उद्योगहरूबीच त्रिपक्षीय बलियो सहकार्य स्थापित गर्दै नेपाललाई सुरक्षित, नैतिक र सबल एआई प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने दूरदृष्टि अघि सारेको छ। यसैगरी, वित्तीय क्षेत्रलाई अत्याधुनिक एआई सुरक्षा ढाँचाद्वारा सशक्त बनाउने, नेपालमै दिगो अनुसन्धान तथा विकास (आरएन्डडी) इकोसिस्टमको निर्माण गर्ने र अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्दै वित्तीय जोखिमलाई न्यून विन्दुमा झार्ने यस ग्रान्टको मुख्य लक्ष्य रहेको बताएको छ ।
यस अनुसन्धान अनुदानले वित्तीय क्षेत्रका चार मुख्य आयामहरूलाई उच्च प्राथमिकतामा राखेको सीएसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीले बताए। उनका अनुसार वित्तीय जोखिम न्यूनीकरण गर्न डिजिटल ठगी नियन्त्रण, ग्राहकको डिजिटल परिचय चोरी (आइडेन्टिटी थेफ्ट) रोक्न र स्वचालित रूपमा हुने वित्तीय कारोबारलाई पूर्ण सुरक्षित बनाउन एडभान्स्ड एआई मोडेलहरूको विकास गरिनेछ।
संस्थाले यस ग्रान्टअन्तर्गत मुख्य चारवटा अनुसन्धान क्षेत्र र तिनबाट हासिल हुने अपेक्षित उपलब्धिहरूलाई समेत प्रस्ट पारेको छ। पहिलो, ‘एआई थ्रेट इन्टेलिजेन्स’ मार्फत एआईमा आधारित साइबर खतराहरूको वास्तविक समयमै निगरानी गरी बैंकहरूका लागि स्वचालित खतरा पहिचान प्रणाली विकास गरिनेछ। दोस्रो, ‘डेटा गभर्नेन्स’ अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी सुरक्षित र गोपनीयता-मैत्री वित्तीय डेटा प्रशोधन ढाँचा तयार पारिनेछ।
तेस्रो, ‘वित्तीय ठगी नियन्त्रण’ को क्षेत्रमा शंकास्पद कारोबारहरूको पूर्वअनुमान गरी सम्भावित वित्तीय नोक्सानी रोक्ने र ग्राहकको विश्वास बढाउने लक्ष्य लिइएको छ। चौथो, ‘नैतिक एआई’ (एथिकल एआई) मार्फत कर्जा मूल्यांकन तथा बैंकिङ सेवाहरूमा एआई प्रणालीलाई पारदर्शी, निष्पक्ष र जवाफदेही बनाइनेछ।
अनुसन्धान अनुदानमा सहभागी हुन तथा आवेदन दिन इच्छुक अनुसन्धानकर्ता, विज्ञ र विद्यार्थीहरूलाई संस्थाले वेबसाइटमा गएर आवेदन दर्ता गर्न सक्न अनुरोध गरेको छ।




