काठमाडौं । प्रभु बैंक खराब कर्जाको दलदलमा फसेको छ। जसका कारण बैंकको वित्तीय स्वास्थ्य थप कमजोर देखिएको छ। बैंकको खराब कर्जा अनुपात एक वर्षमै ५.७८ प्रतिशतबाट बढेर १४.८० प्रतिशत पुगेको छ। खराब कर्जा तिब्र रुपमा बढेसँगै बैंकको वितरणयोग्य नोक्सानीसमेत ६ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ।
यसले बैंकको कर्जा गुणस्तर, नाफाको दिगोपन र लाभांश वितरण क्षमतामाथि गम्भीर प्रश्न उब्जाएको छ।
चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद निष्क्रिय कर्जा अनुपातसमेत १.५९ प्रतिशतबाट बढेर ५.०२ प्रतिशत पुगेको छ। त्यस्तै, कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जाको अनुपात ११५.७१ प्रतिशतबाट घटेर ७६.१३ प्रतिशतमा झरेको छ। यसले खराब कर्जाको तुलनामा बैंकले गरेको कर्जा नोक्सानी व्यवस्थाको पर्याप्ततामाथि थप प्रश्न उठाएको छ।
बैंकले समीक्षा अवधिमा ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ। गत वर्षको सोही अवधिमा ५५ करोड ८५ लाख रुपैयाँ नाफा गरेको बैंकले यसपटक ८.१० प्रतिशतको वृद्धि देखाएको हो। तर, नाफा बढेको तथ्यांकसँगै बैंकको वास्तविक सञ्चालन आम्दानी र कर्जा गुणस्तरको अवस्था भने कमजोर देखिएको छ।
बैंकको ब्याज आम्दानी १८.८० प्रतिशतले घटेर ५ अर्ब २४ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। ब्याज खर्च १८.३५ प्रतिशतले घटे पनि खुद ब्याज आम्दानीमा १९.३६ प्रतिशतको गिरावट आएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। कुल सञ्चालन आम्दानीसमेत ११.८८ प्रतिशतले घटेर ३ अर्ब ३७ करोड ७ लाख रुपैयाँमा झरेको छ।
अर्कोतर्फ, कर्जा तथा अन्य नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम ४१.३५ प्रतिशतले घटेर ५८ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यस्तो रकम १ अर्ब ३८ लाख रुपैयाँ थियो। खराब कर्जा अनुपात झन्डै तीन गुणा पुगेको अवस्थामा कर्जा नोक्सानी व्यवस्थाको रकम घट्नुले बैंकको नाफा वृद्धिको गुणस्तरमाथि थप बहस सिर्जना गरेको छ।
बैंकको सञ्चालन नाफा १.५० प्रतिशतले घटेर १ अर्ब १५ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ। कर अघिको नाफासमेत १.२३ प्रतिशतले घटेको छ। तर कर खर्च ९.७१ प्रतिशतले घटेपछि खुद नाफा बढेको देखिएको छ। अर्थात्, बैंकको खुद नाफामा देखिएको सुधार सञ्चालन व्यवसायको विस्तारबाट आएको होइन।
बैंकको वितरणयोग्य नोक्सानीको अवस्था झन् डरलाग्दो छ। गत वर्षको पहिलो त्रैमासमा ४० करोड ६१ लाख रुपैयाँ वितरणयोग्य नाफामा रहेको बैंक यस वर्ष ६ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ वितरणयोग्य नोक्सानीमा पुगेको छ। बैंकको सुरु सञ्चित नोक्सानी नै ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ रहेको थियो। चालू त्रैमासमा वितरणका लागि उपलब्ध खुद नाफा ४६ करोड ९१ लाख रुपैयाँ ऋणात्मक छ। असुल हुन बाँकी ब्याज र गैरबैंकिङ सम्पत्तिसम्बन्धी नियामकीय समायोजनका कारण सञ्चित नाफामा असर परेको बैंकले जनाएको छ।
बैंकको पूँजीगत अवस्थासमेत दबाबमा देखिएको छ। पूँजीकोष अनुपात १३.६० प्रतिशतबाट घटेर ११.८३ प्रतिशतमा झरेको छ। प्राथमिक पूँजी (टियर–१) तथा साझा इक्विटी टियर–१ अनुपात ९.८६ प्रतिशतबाट घटेर ८.१८ प्रतिशतमा सीमित भएको छ। खराब कर्जा बढ्दै जाने र पूँजीकोष थप दबाबमा पर्ने हो भने बैंकका लागि कर्जा विस्तार तथा जोखिम व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्छ।
असोज मसान्तसम्म बैंकले ३ खर्ब ५० अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। ग्राहक कर्जा भने २ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ। असार मसान्तको तुलनामा निक्षेप ०.५७ प्रतिशतले बढ्दा कर्जा १.५९ प्रतिशतले घटेको छ। बैंकको कुल सम्पत्ति ४ खर्ब १७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
वार्षिकीकृत प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा देखिए पनि वितरणयोग्य नोक्सानी, खराब कर्जाको उच्च अनुपात र घट्दो पूँजीकोषले बैंकको वित्तीय अवस्थालाई सहज देखाउँदैन।
खुद नाफामा सामान्य वृद्धि देखाएर वित्तीय सुधारको संकेत दिन खोजिए पनि खराब कर्जाको विस्तार र वितरणयोग्य नोक्सानीको आकारले प्रभु बैंकका सामु कर्जा असुली, पूँजी संरक्षण र वित्तीय विश्वसनीयता कायम गर्ने गम्भीर चुनौती रहेको देखाएको छ।




