काठमाडौं । लेखक तथा विश्लेषक महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तकको विमोचन भएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले लोकतन्त्रलाई अधिकारसँगै कर्तव्य र जिम्मेवारीसँग जोडेर बुझ्नुपर्ने बताइन् ।
‘लोकतन्त्र अधिकारको मात्र व्यवस्था होइन, अधिकार र कर्तव्यबीचको सन्तुलन पनि हो,’ उनले भनिन् ।
नागरिकले राज्यबाट सेवा र सुविधा माग्ने अधिकारसँगै सार्वजनिक सम्पत्तिको संरक्षण, कानुनको पालना र अरूको अधिकार तथा स्वतन्त्रताको सम्मान गर्नुपर्ने उनले बताइन् ।
देश विकासका लागि सरकार र राजनीतिक दलको प्रयास मात्रै पर्याप्त नहुने उनको भनाइ थियो ।
‘समाजका हरेक पक्ष, हरेक समुदाय र प्रत्येक नागरिकको पनि विकासमा आफ्नो भूमिका र जिम्मेवारी हुन्छ । नागरिकको श्रम, सिर्जनशीलता,उद्यमशीलता, अनुशासन, इमानदारी र सामाजिक जिम्मेवारी पनि विकासका महत्त्वपूर्ण आधार हुन्,’ उनले भनिन् ।
पठन संस्कृतिले सचेत नागरिक र ज्ञानमा आधारित समाज निर्माणमा सहयोग गर्ने उनको भनाइ थियो ।
‘पुस्तक पढ्ने र पढेका विषयमा छलफल गर्ने संस्कृतिले सचेत नागरिक र ज्ञानमा आधारित समाज निर्माण गर्न सहयोग पुर्याउँछ भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।
यसैबीच, भण्डारीले प्रज्ञा भवनको व्यवस्थापन र सरसफाइप्रति असन्तुष्टि जनाइन् । महँगो भाडा तिर्नुपर्ने भए पनि त्यसअनुसार व्यवस्थापनमा ध्यान नदिइएको उनको भनाइ थियो ।
‘झन्डै दिनभरिको भाडा तिर्दा ठूलो हलको तीन लाखभन्दा माथि नै जान्छ । हामी पनि धेरैचोटि भाडा तिरेर कार्यक्रम गरेका छौँ, ठूलो हलको कुरा गरेको प्रज्ञा भवनको । तर त्यसअनुसार यहाँको जुन सरसफाइ, नाम तोकेर म नभनौँ, तर जुन हुनुपर्ने त्यो कुरामा चाहिँ ध्यान दिनुपर्याे,’ उनले भनिन् ।
प्रज्ञा भवनको ऐतिहासिक महत्त्व रहेको उल्लेख गर्दै उनले व्यवस्थापनमा सुधार गर्न सम्बन्धित पदाधिकारीको ध्यानाकर्षण गराइन् ।
३५ वर्षमा केही भएन भन्नु उचित होइन
यस्तै ,कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पछिल्ला ३५ वर्षमा नेपालमा भएका विकासका उपलब्धिलाई बेवास्ता गर्न नहुने बताए ।
‘केही साथीहरू यही कुरा बोलेर चुनाव लडेर आएका छन्, यही कुरा बोलेर सत्तामा पुगेका छन् । तर ३५ वर्षमा केही भएन त ?’ उनले भने ।
२०४४ सालमा पञ्चायती व्यवस्थाविरुद्ध चुनाव लडेर धादिङ जिल्ला पञ्चायतको सभापति निर्वाचित भएको स्मरण गर्दै पाण्डेले आफूले पनि विकास निर्माणमा भूमिका खेलेको बताए ।
‘मेरै प्रयत्नले निर्माण भएका १० वटा पुलमध्ये ६ वटा पुल भर्खरै भोटेकोसीको बाढीले बगाएको छ । झन्डै ४१ वटा झोलुङ्गे पुलहरू बगाएको छ । धेरै ठूलो नोक्सान गरेको छ । हिजो हामीले बनाएका थियौँ र बगायो,’ उनले भने ।
पाण्डेले पञ्चायती व्यवस्थाको अन्त्य हुँदा करिब पाँच हजार ३०० किलोमिटर कालोपत्र सडक रहेकोमा अहिले करिब २८ हजार किलोमिटर पुगेको दाबी गरे ।
ग्रामीण क्षेत्रमा पनि सडक विस्तार भएको उल्लेख गर्दै उनले भने, ‘स्थानीय सरकारले बनाएको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रमअन्तर्गत बनेकै सडक करिब–करिब ७० हजार किलोमिटरभन्दा बढी ग्रामीण क्षेत्रमा बनेका छन् । त्यो त्यही ३५ वर्षभित्र भएको हो है, पहिला भएको हैन ।’
सञ्चार र दूरसञ्चारको क्षेत्रमा भएको परिवर्तनलाई पनि पाण्डेले विकासको उदाहरणका रूपमा प्रस्तुत गरे ।
‘हिजो ४० हजार लाइन, पञ्चायतको अन्त्य हुँदा ४० हजार लाइन टेलिफोन थियो । आज दुई करोडभन्दा बढी नेपालीको हातमा मोबाइल छ, कसैको हातमा दुई–दुईवटा मोबाइल छन् । त्यो सबै आजको यो ३५ वर्षकै प्रगति हैन र ?’ उनले भने ।
प्राविधिक शिक्षालयको सङ्ख्या, साक्षरता दर, स्वास्थ्य सेवा र औसत आयुमा सुधार भएको उल्लेख गर्दै पाण्डेले विकासका उपलब्धि स्वीकार गर्नुपर्ने बताए ।
यद्यपि, देशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा ठूलो सङ्ख्यामा नेपाली विदेशिनुपरेको उनले बताए ।
पाण्डेले लेखक शिवाकोटीलाई पुस्तकमा वर्तमान अवस्थाको तथ्याङ्क र सुधारका उपाय समेट्न सुझाव दिए ।
‘तपाईंले मेहनत चाहिँ बेस्सरी गर्नुभएको छ । तर मलाई लाग्छ, त्यहाँ लेख्दा हरेक शीर्षकमा तपाईंले आजको अवस्था भन्नुभएको छ । आजको अवस्था लेख्ने हो भने त तथ्याङ्क पनि हाल्नुपर्ला नि त,’ उनले भने ।
राजनीतिक चेतनासम्बन्धी पुस्तकमा पनि विभिन्न कालखण्डको निष्पक्ष मूल्याङ्कन तथ्यका आधारमा हुनुपर्ने पाण्डेले बताए ।
सबै पुराना नेता भ्रष्टाचारी हुन् भन्ने भाष्य पनि उचित नभएको पाण्डेको भनाइ थियो ।
‘अनि सबै नेताहरू हिजो भ्रष्टाचारी थिए भन्ने भाष्य पनि यो कुरा पनि बन्द गरे हुन्छ । म त्यो बेलाको २०४८ सालदेखि ७९ सालको लगातारको सांसद हुँ म । खै त, हामी त्यस्तो खालको भ्रष्टाचारको गतिविधिमा त कहिल्यै सामेल भएनौँ त,’ उनले भने । पुराना दलका सबै नेता र कार्यकर्तालाई एउटै दृष्टिकोणबाट मूल्याङ्कन गर्न नहुने बताउँदै उनले भने, ‘त्यसो हुनाले यो सबै नेताहरू भ्रष्टाचारी हुन्, पार्टीका सबै मान्छेहरू गलत थिए भन्ने भाष्य पनि नगरौँ ।’
पाण्डेले पुस्तकका कमी सच्याँएर तथ्यपरक बनाउन लेखकलाई सुझाव दिए । पुस्तक विद्यार्थीका लागि समेत उपयोगी सन्दर्भ सामग्री बन्न सक्ने उनको भनाइ थियो ।
‘यो सबै शीर्षक हालेको देख्दा यो ८ कक्षा, ९ कक्षादेखि १२ कक्षासम्मको लागि कोर्ष नै तयार गर्ने सहयोगी पुस्तक बन्न सक्छ यो, अलिकति प्रयत्न गर्नुभयो भने,’ उनले भने ।





