काठमाडौं । तनहुँमा जलविद्युत्, विद्युत् प्रसारण लाइन, केबलकार, रिसोर्टलगायत पूर्वाधार आयोजना निर्माणका लागि ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणका विभिन्न चरणमा रहेका आयोजनाले उक्त वन क्षेत्र प्रयोग गरिरहेका छन्। वन क्षेत्र प्रयोग गर्ने प्रमुख आयोजनामा तनहुँ जलविद्युत् आयोजना, ४०० केभी विद्युत् प्रसारण लाइन, तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइनलगायत छन्।
वन क्षेत्र प्रयोग गरेबापत सम्बन्धित आयोजना तथा निकायले कानुनअनुसार राजस्व बुझाउनुका साथै जग्गा सट्टाभर्ना र क्षतिपूर्तिस्वरूप वृक्षारोपण गर्नुपर्ने व्यवस्था छ। तर, आयोजनाअनुसार वन क्षेत्रको क्षतिपूर्ति व्यवस्थापनको अवस्था फरक रहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार केही आयोजनाले जग्गा सट्टाभर्ना गरी क्षतिपूर्तिस्वरूप वृक्षारोपण गरिरहेका छन्। केहीले भने वार्षिक कबुलियती दस्तुर तथा तोकिएको राजस्व बुझाउँदै आएका छन्।





