काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सामान्य बढेको छ । संस्थाले असोज मसान्तसम्म १ करोड ७७ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ करोड ६८ लाख ४१ हजार रुपैयाँ थियो ।
संस्थाको वित्तीय विवरणअनुसार नाफासँगै वितरणयोग्य नाफा र सञ्चालन नाफामा पनि वृद्धि भएको छ । खराब कर्जा अनुपात घटेको छ भने कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटब्याक) हुँदा आम्दानीमा योगदान पुगेको छ ।
संस्थाको कुल निष्क्रिय कर्जा अनुपात गत वर्षको असोज मसान्तमा ४.२४ प्रतिशत रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १.९७ प्रतिशतमा झरेको छ । त्यस्तै, खुद निष्क्रिय कर्जा अनुपात ०.२४ प्रतिशतबाट घटेर शून्यमा पुगेको छ । कर्जा नोक्सानी व्यवस्थाको तुलनामा सुरक्षण अनुपात भने ११७.२५ प्रतिशतबाट बढेर १५०.१० प्रतिशत पुगेको छ ।
कर्जा नोक्सानी व्यवस्थामा भएको परिवर्तनले पनि संस्थाको नाफामा प्रभाव पारेको छ । गत वर्षको पहिलो त्रैमासमा कर्जा तथा अन्य सम्भावित नोक्सानीका लागि ७५ लाख २९ हजार रुपैयाँ छुट्याएको संस्थाले यसपटक ६७ लाख ४१ हजार रुपैयाँ राइटब्याक गरेको छ ।
समीक्षा अवधिमा चालु त्रैमासबाट सिर्जित वितरणयोग्य नाफा १ करोड २९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा ७८ लाख ३१ हजार रुपैयाँ थियो । यसअनुसार वितरणयोग्य नाफा ६५.६९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सञ्चित रकम तथा प्रस्तावित नगद लाभांशसमेत समायोजन गर्दा कुल वितरणयोग्य नाफा १ करोड ९० लाख १४ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
संस्थाको खुद सञ्चालन आम्दानी ११.१७ प्रतिशतले बढेर ४ करोड ७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि गत वर्षको २ करोड ४० लाख ५८ हजार रुपैयाँबाट बढेर २ करोड ५३ लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।
यद्यपि, संस्थाको ब्याजदर अन्तर घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १.५७ प्रतिशत रहेको ब्याजदर अन्तर चालु आर्थिक वर्षको समीक्षा अवधिमा १.०८ प्रतिशतमा झरेको हो । यसले नियमित ब्याज कारोबारबाट आम्दानी बढाउने चुनौती रहेको संकेत गर्छ ।
असोज मसान्तसम्म संस्थाको चुक्तापुँजी १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ, जगेडा कोष ३६ करोड ९१ लाख रुपैयाँ र सञ्चित नाफा १६ करोड १९ लाख रुपैयाँ रहेको छ । यी स्रोतसमेत समेटिएको कुल इक्विटी १ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले लघुवित्त तथा सहकारी संस्थामार्फत प्रवाह गरेको कर्जा लगानी असोज मसान्तमा ४ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ रहेको छ । गत असार मसान्तमा यस्तो लगानी ४ अर्ब ६९ करोड ५२ लाख रुपैयाँ थियो ।
नाफा वृद्धिसँगै संस्थाको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १ पैसाबाट बढेर ५ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १३९ रुपैयाँ ४९ पैसा कायम रहेको छ ।





