काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कम्पनी सञ्चालक समितिको कात्तिक ५ गते बसेको २३३औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको हो। राजीनामा कात्तिक १० गतेदेखि लागू हुनेछ।
इन्स्योरेन्सबाट कार्यकाल रहँदै बाहिरिएका श्रेष्ठले प्रभु बैंकको डेपुटी सीईओ बन्न इन्स्योरेन्स कम्पनी छाडेको चर्चा छ। प्रभु बैंकका प्रमुख सेयरधनी शशिकान्त अग्रवाल लगायतले उनलाई उक्त पदमा ल्याउन दबाब दिएको पनि चर्चा छ। यद्यपि, यसबारे कम्पनी तथा श्रेष्ठ स्वयम्ले भने औपचारिक जानकारी दिएका छैनन्।
श्रेष्ठको राजीनामापछि एशियन लाइफले नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई नयाँ सीईओ नियुक्त नभएसम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।
कम्पनीले राजीनामा र नयाँ जिम्मेवारीबारे नेपाल स्टक एक्सचेन्ज, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराएको जनाएको छ।





