काठमाडौं । दशैं मनाउन राजधानीबाट गाउँ गएका मानिसहरू फर्किन थालेपछि काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दशैंअघि सुनसान बनेका सडकमा सवारीसाधनको आवागमन बढेको छ भने बजार र बस्तीमा पनि जनजीवन सामान्य बन्दै गएको छ।
दशैंका लागि ठूलो सङ्ख्यामा मानिस उपत्यकाबाट बाहिरिएपछि केही दिन काठमाडौंका सडक सुनसान बनेका थिए। सार्वजनिक सवारीसाधनको चाप घटेको थियो भने व्यस्त बजारसमेत शान्त देखिएका थिए। तर, विजयादशमीदेखि टीका लगाउने र आफन्तकहाँ आउजाउ गर्ने क्रम बढेसँगै राजधानीमा चहलपहल फर्किन थालेको हो।
बुधबार विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम बिहीबार एकादशीमा पनि जारी छ। पारिवारिक परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद लिने चलन छ। दशैं मनाएर कतिपय राजधानी फर्किसकेका छन् भने केही फर्किने तयारीमा छन्।
उपत्यकाका रिङरोडसहित मुख्य सडकमा मोटरसाइकल, निजी कार तथा अन्य सवारीसाधनको आवागमन बढेको छ। गाउँ गएका मानिस काममा फर्किन थालेपछि व्यापारिक गतिविधि पनि विस्तारै बढ्ने क्रममा छन्।
यसपटक दशैंका बेला मौसम खुलेको छ। घटस्थापनादेखि विजयादशमीसम्म अधिकांश दिन आकाश सफा रहँदा उपत्यकाको दृश्य आकर्षक देखिएको छ। नीलो आकाशमुनि गुडिरहेका सवारीसाधन, अग्ला भवन र पृष्ठभूमिमा देखिने हिमशृङ्खलाले काठमाडौंको सुन्दरता थपेका छन्।
दशैं मनाएर फर्किनेहरूको चहलपहलसँगै राजधानीले विस्तारै आफ्नो पुरानै व्यस्तता फर्काउँदै छ। सडकमा बढ्दो आवागमन, बजारको रौनक र खुलेको मौसमले उपत्यकामा दशैंपछिको चहलपहल बढाएको छ।





