काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ। साउनदेखि असोजसम्म २० हजार ५२२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा २ हजार ४६९ भक्तजनबाट ३ लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको थियो। भदौमा ६ हजार १२३ भक्तजनले दर्शन गर्दा २३ लाख ६७ हजार रुपैयाँ भेटी चढाएका थिए। असोजमा ११ हजार ९३० भक्तजनबाट १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ।
समितिको विवरणअनुसार असोजमा सबैभन्दा धेरै भक्तजनले पाथीभराको दर्शन गरेका छन्। तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा पुग्न काफ्लेपाटीदेखि करिब पाँच किलोमिटर पैदल यात्रा गर्नुपर्छ।
पाथीभरा पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्ग प्रयोग गर्न सकिन्छ। सुकेटारसम्म पक्की सडक भए पनि काफ्लेपाटीसम्मको कच्ची सडकले यात्रालाई चुनौतीपूर्ण बनाउने गरेको छ। पैदलमार्गमा यात्रुलाई पानी र हिउँबाट जोगाउन विभिन्न स्थानमा फाइबरका छाना पनि राखिएका छन्।





