काठमाडौं । दशैँ नजिकिएसँगै मुस्ताङ र कर्णालीका हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बेँसी झरेका छन्। यस वर्ष मुस्ताङको जोमसोम मार्ग हुँदै पोखरा, काठमाडौंलगायतका सहरमा १३ हजार २७९ वटा भेडाच्याङ्ग्रा निकासी भएका छन्। तिनको कुल कारोबार मूल्य ३५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार निकासी भएका पशुमध्ये ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ भेडा छन्। मुस्ताङबाट मात्रै भेडाच्याङ्ग्रा र च्यालु (माउ) गरी २२ करोड रुपैयाँभन्दा बढीको निकासी भएको छ। त्यस्तै, डोल्पा, मुगु र जुम्लाबाट करिब १३ करोड रुपैयाँ बराबरका भेडाच्याङ्ग्रा तथा च्यालु मुस्ताङ मार्ग हुँदै बजारमा पुगेका छन्।
कार्यालयका अनुसार मुस्ताङबाट सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएका छन्। कर्णालीका तीन जिल्लाबाट थप तीन हजार २०० च्याङ्ग्रा र ९११ भेडा ल्याइएको छ। तीमध्ये डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा तथा मुगुबाट ३२० च्याङ्ग्रा र ४० भेडा निकासी भएका हुन्।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष एउटा च्याङ्ग्राको औसत मूल्य ३३ हजार, भेडाको २२ हजार र च्यालुको १० हजार रुपैयाँका दरले कारोबार मूल्याङ्कन गरिएको छ। दशैँको मागले हिमाली पशुपालक किसान र व्यापारीलाई आम्दानीको अवसर दिएको छ। यद्यपि, पशुपालन, ढुवानी र बजार व्यवस्थापनको खर्च कटाउँदा किसानले प्राप्त गर्ने वास्तविक आम्दानी फरक पर्न सक्छ।
मुस्ताङका उच्च लेक, बुकी र पाटनमा हुर्किएका भेडाच्याङ्ग्रा दशैँको परम्परा र हिमाली समुदायको जीविकोपार्जनसँग जोडिएका छन्। कर्णालीका दुर्गम बस्तीबाट समेत पशुधन ओसारेर सहरका बजारमा पुर्याउने जोमसोम मार्ग हिमाली पशुपालन र सहरी बजारबीचको महत्वपूर्ण व्यापारिक कडी बनेको छ।





