दशैंमा चम्किएको जमराको व्यापार

काठमाडौं । घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा सडक पेटीमा पनि किन्न पाइन्छ भन्दा अचम्म नमान्दा हुन्छ । काठमाडौं उपत्यकाका सडक पेटी वा फुटपातका फुल पसलहरुमा जमरा सहजै खरिद गर्न पाइन्छ ।

विभिन्न कारणले घरमा जमरा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किनेर नै दशैं टार्ने गरेका छन् । वडादशैं अन्तर्गत विजय दशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा सिरमा लगाइने जमरा मौसमी व्यापारको राम्रो माध्यम बनिरहेको छ ।

ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिर क्षेत्रमा पनि जमराको व्यापार भइरहेको यस्तै दृश्य देखिएको छ।

जमरा व्यवसाय गर्दै आएकी सोना साहले यो व्यवसाय निकै नाफामूलक रहेको बताइन्। छोटो समयमा राम्रो आम्दानी गर्न सकिने सोचका साथ आफूले गत वर्षदेखि जमराको व्यापार सुरु गरेको उनले बताइन्।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या र आम्दानी दुवै बढेको छ। उनले एकै दिनमा १० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन्।

घरमा रोपिएको जमरा पूजापाठपछि काटेर दशैंको टीकासँगै लगाउने परम्परा रहे पनि पछिल्लो समय दशैंको टीका लगाउनुअघि नै सडक र बजारमा बिक्रीका लागि राखिएको देखिन्छ।

पछिल्लो समय काठमाडौको जमल, इन्द्रचोक, असन साथै ललितपुरको मंगलबजार, कृष्णमन्दिर, लगनखेललगायतका क्षेत्रमा जमराको व्यापार भइरहेको देखिन्छ । सानो साना मुठा पारिएको, टपरी, माटाका भाडा वा विभिन्न प्लाष्टिकका बट्टामा उमारिएको जमरा ४० रुपैंयाँ मुठादेखि ३५०–५०० रुपैंयाँसम्म विक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *