संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ। तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपतकालीन अवस्थामा पुग्न सक्ने अनुमान गरिएको छ।
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओचा) का अनुसार, नोभेम्बरदेखि अप्रिलसम्मको कठिन हिउँदमा खाद्य सङ्कट थप गम्भीर बन्ने सम्भावना छ। यस सङ्कटले विशेषगरी बालबालिका र कमजोर आर्थिक अवस्था भएका परिवारलाई बढी प्रभावित गर्नेछ।
ओचाकी अफगानिस्तानस्थित प्रवक्ता ओल्गा चेरेभकोले सेप्टेम्बर र अक्टोबरमा एक करोड ५९ लाख अफगान नागरिकले सङ्कटपूर्ण वा त्योभन्दा खराब स्तरको खाद्य असुरक्षाको सामना गरेको बताउनुभयो। तीमध्ये ३४ लाख मानिस आपतकालीन अवस्थामा थिए।
उनका अनुसार, हिउँदसम्म खाद्य असुरक्षाको अवस्था झनै बिग्रनेछ। आवश्यक सहयोग समयमै उपलब्ध गराउन नसके लाखौँ मानिस गम्भीर सङ्कटमा पर्ने जोखिम छ।
चेरेभकोले आगामी वर्ष छ महिनादेखि पाँच वर्ष उमेर समूहका ४० लाखभन्दा बढी बालबालिकालाई तीव्र कुपोषणको उपचार आवश्यक पर्ने बताए। तीमध्ये १० लाखभन्दा बढी बालबालिका गम्भीर तीव्र कुपोषणबाट प्रभावित हुने अनुमान छ।
उनले हिउँदअघि नै खाद्य सहायता उपलब्ध गराउन, पशुधन र कृषि सम्पत्तिको संरक्षण गर्न तथा किसानलाई सहयोग गर्नुपर्नेमा जोड दिए। स्वास्थ्य, पोषण र खानेपानी सेवाको पहुँच कायम राख्न पनि उनले आग्रह गरे।
सहायता अभावले सङ्कट थप गम्भीर
अफगानिस्तानमा आर्थिक कठिनाइ, खडेरी, वर्षौँदेखिको द्वन्द्व र अन्तरराष्ट्रिय सहायतामा आएको कमीले खाद्य सङ्कट थप चर्काएको छ। देशभरका करिब एक तिहाइ पोषण केन्द्रले आर्थिक अभावका कारण सेवा बन्द गरेका वा स्थगित गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका अनुसार, अगस्टको अन्त्यसम्म अफगानिस्तानमा जीवनरक्षक सहायता उपलब्ध गराउन आवश्यक रकमको ३० प्रतिशतभन्दा कम मात्रै प्राप्त भएको थियो।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अन्तरराष्ट्रिय सहायता घटेको छ। महिलाको शिक्षा र सार्वजनिक जीवनमा सहभागितामाथि लगाइएका प्रतिबन्धका कारण तालिबान सरकार अन्तरराष्ट्रिय समुदायबाट पनि व्यापक रूपमा अलग रहँदै आएको छ।
यसैबीच, प्राकृतिक विपद् तथा सन् २०२३ यता इरान र पाकिस्तानबाट लाखौँ अफगान नागरिक फर्काइएका कारण मानवीय सङ्कट थप जटिल बनेको छ।
यस वर्ष राम्रो वर्षा र कृषि उत्पादनले केही राहत दिए पनि त्यसले वर्षौँको खडेरीबाट भएको क्षति पूर्ति गर्न नसक्ने राष्ट्रसङ्घले जनाएको छ। खाद्य सङ्कट खाद्यान्नको उपलब्धतासँगै त्यसलाई किन्न सक्ने आर्थिक क्षमतासँग पनि जोडिएको छ।
ओचाले मानवीय सहायताले तत्काल ज्यान बचाउन सक्ने भए पनि दीर्घकालीन आर्थिक अवसर र सार्वजनिक सेवाको अभाव समाधान गर्न पर्याप्त नहुने जनाएको छ।





