१४ बैंक तथा वित्तीय संस्थाबाट साढे २२ अर्बको लाभांश वितरण, नबिल बैंक अग्रस्थानमा

काठमाडौँ । १४ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफामा आधारित लाभांश वितरण प्रक्रिया टुङ्ग्याएका छन् । ती बैंक वित्तीय संस्थाहरूले आफ्ना वार्षिक साधारणसभा सम्पन्न गर्दै सेयरधनीहरूलाई प्रतिफल वितरण गरेका हुन्।

लाभांश वितरण गर्नेमा आठ वाणिज्य बैंक, चार विकास बैंक र एक फाइनान्स कम्पनी रहेको विवरणमा उल्लेख छ। वाणिज्य बैंकतर्फ नबिल, सिद्धार्थ, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, माछापुच्छ्रे, कुमारी र सिटिजन्स बैंक इन्टरनेसनल रहेका छन्।

त्यस्तै, विकास बैंकतर्फ गरिमा, सांग्रिला, साइन रेसुङ्गा र कामना सेवा विकास बैंकले लाभांश वितरण गरेका छन्। फाइनान्स कम्पनीतर्फ आईसीएफसी फाइनान्सले लाभांश वितरण गरेको छ।

नगद लाभांश वितरणमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले सेयरधनीलाई ३ अर्ब ४६ करोड रुपैयाँ नगद लाभांश दिएको छ। ग्लोबल आइएमई बैंकले २ अर्ब २८ करोड र सिद्धार्थ बैंकले १ अर्ब ८२ करोड रुपैयाँ वितरण गरेका छन्।

यसपटक बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश दर २.१०५३ प्रतिशतदेखि २०.८० प्रतिशतसम्म रहेको छ। नगद लाभांशतर्फ अधिकतम १०.८० प्रतिशतसम्म वितरण गरिएको छ।

बैंक तथा वित्तीय संस्थाले वितरण गरेको कुल २२ अर्ब ४५ करोड रुपैयाँ लाभांशमध्ये १४ अर्ब ६५ करोड रुपैयाँ नगदका रूपमा सेयरधनीसम्म पुगेको छ। बाँकी रकम बोनस सेयरका रूपमा पुँजीमा थपिएको छ।

नियमअनुसार लाभांशमा पाँच प्रतिशत कर कट्टी हुने व्यवस्था छ। उपलब्ध विवरणअनुसार नगद लाभांश वितरणबाट करबापत करिब १ अर्ब १२ करोड रुपैयाँ कट्टी भएको छ। कर कट्टीपछि १३ अर्ब ५३ करोड रुपैयाँ सेयरधनीको बैंक खातामा जाने रकम रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *