दसैँको मुखमा बजारमा थपियो ६३ अर्ब नगद, १३ अर्बको नयाँ नोट सटही

काठमाडौं । दसैँ नजिकिएसँगै बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै उक्त परिमाणको मुद्रा बजारमा थपिएको हो।

भदौ मसान्तसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेकामा बुधबारसम्म आइपुग्दा यो बढेर ८ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। चाडपर्वको समयमा नगदको माग अझै बढ्न सक्ने राष्ट्र बैंकका अधिकारीहरूको अनुमान छ।

डिजिटल भुक्तानीको प्रयोग बढ्दै गए पनि दसैँलगायतका चाडपर्वमा नगदको माग उच्च रहने गरेको छ। किनमेल, दक्षिणा तथा अन्य चाडपर्वजन्य कारोबारका लागि सर्वसाधारणले नगद प्रयोग गर्ने भएकाले बजारमा मुद्रा प्रवाह बढेको हो।

यस अवधिमा सर्वसाधारणले नेपाल राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकमार्फत करिब १३ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सफा नोट साटेका छन्। त्यसमध्ये करिब ३ अर्ब रुपैयाँ बराबरका नोट राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय र प्रादेशिक कार्यालयमार्फत साटिएको राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरूले आफ्ना ग्राहकहरूलाई नोट साट्ने सुविधाका लागि १० अर्ब रुपैयाँ लिएर गएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले असोज १ गतेदेखि ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटहरू साट्ने सुविधा सुरु गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *