दसैँमा खसीको मासुकाे मूल्य कति पर्ला ?

काठमाडौँ । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा खसीको मासु महँगिने भएको छ। कलङ्कीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अनुसार जिउँदो खसीको मूल्य प्रतिकिलो ८५० देखि ९०० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

गत वर्ष प्रतिकिलो अधिकतम ७५० रुपैयाँसम्ममा बिक्री भएको जिउँदो खसीको मूल्य यस वर्ष १५० देखि २०० रुपैयाँसम्म बढ्ने देखिएको हो। जिउँदो खसीकै मूल्य बढेपछि उपभोक्ताले खरिद गर्ने तयारी मासुको मूल्यसमेत बढ्ने सम्भावना छ। हाल बजारमा खसीको मासु प्रतिकिलो १ हजार ७०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

कलङ्कीस्थित चौपाया खरिद–बिक्री केन्द्रका अध्यक्ष जीवनराज खतिवडाका अनुसार गाउँघरमा खसीबोकाको उत्पादन घट्नु र हालैको बाढीपहिरोका कारण देशका विभिन्न भागका राजमार्ग र सडक अवरुद्ध हुनु मूल्यवृद्धिका प्रमुख कारण हुन्। सडक अवरुद्ध हुँदा खसीबोकाको ढुवानीमा समस्या परेको उनले बताएका छन्।

यता, च्याङ्ग्राको मूल्य भने गत वर्षकै हाराहारीमा रहेको छ। हाल बजारमा च्याङ्ग्रा प्रतिकिलो १ हजार २५० देखि १ हजार ३५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।ढुवानीमा समस्या भए पनि यस वर्षको दसैँका लागि काठमाडौँ उपत्यकामा २२ देखि २३ हजार खसीबोका र करिब ४ हजार च्याङ्ग्रा भित्र्याउने तयारी गरिएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार देशका ४० जिल्लाबाट उपत्यकामा खसीबोका तथा च्याङ्ग्रा ल्याइँदै छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *