काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सुदूरपश्चिम रोयल्सले इंग्ल्यान्डका फिल साल्ट र वेस्ट इन्डिजका सुनिल नारायणलाई सम्भावित विदेशी खेलाडीका रूपमा अघि सारेको छ ।
रोयल्सका अध्यक्ष स्वतन्त्रप्रताप शाहले एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट पूर्ण मान्यता पाए साल्ट र नारायणसहितका विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गर्ने तयारी भइरहेको बताएका छन् ।
कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा शाहले दक्षिण अफ्रिकाका हेनरिक क्लासेनसँग पनि रोयल्सको कुराकानी भइरहेको जानकारी दिए ।
यस्तै, पाकिस्तानका एक क्रिकेट ‘लेजेन्ड’लाई टोलीको मुख्य प्रशिक्षकका रूपमा भित्र्याउने तयारी भइरहेको उनले बताएका छन् ।
एनपीएलको आगामी संस्करणमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षकलाई जोड्ने योजनाअनुसार विदेशी खेलाडी छनोटको तयारी भइरहेको रोयल्सले जनाएको छ ।




