काठमाडौं । हिम पर्वत हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ३५ प्रतिशत बराबरको ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ।
कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ छ। यसमध्ये १० प्रतिशत अर्थात् १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको बाँकी २५ प्रतिशत सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको सेयरमध्ये दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका–२, ३ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दाले १० लाख १४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यी वडाबाहेक बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि ६ लाख ७६ हजार कित्ता शेयर छुट्याइएको छ।
स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन रकम भुक्तानी गर्नुपर्नेछ। स्थानीयका लागि आईपीओ निष्कासन कात्तिक ११ गतेदेखि खुल्नेछ। छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते बैंकिङ समयपछि बन्द हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने कात्तिक ११ देखि आवेदन खुला भई छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते बन्द हुनेछ। आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।





