काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्ताको सहजताका लागि आउँदो आइतबार (असोज २५ गते) देखि ६ वटा विभिन्न स्थानबाट एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेर हुने भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले ३१ असोज शनिबारसम्म लागु हुने गरी हरेक दिन बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्मका लागि उपत्यकाका विभिन्न ६ स्थानमा यस्तो व्यवस्था मिलाएको जानकारी दिएको छ ।
संघले तोकेका ती ६ वटा विशेष बिक्री केन्द्रहरूमा फरक-फरक ब्रान्डका ग्यासहरू उपलब्ध हुनेछन् । जसअन्तर्गत काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास, र बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा साटफेर हुनेछ ।
यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उपभोक्ताले आफ्नो सहजताका लागि ती केन्द्रहरूमा फोनमार्फत पनि सम्पर्क गर्न सक्नेछन् ।
तोकिएका यी स्थानहरूमा काठमाडौं उपत्यकामा बिक्री वितरण हुने संघका सदस्य उद्योगहरूका ग्यास सिलिन्डर मात्र साटफेर हुनेछन् । साथै, तोकिएका यी विशेष बिक्री केन्द्रहरूबाहेक अन्य स्थानमा भने यसरी सिलिन्डर साटफेर नहुने संघले स्पष्ट पारेको छ ।




