काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक गरिएको छ । बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारले विटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र कराँतेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । बैठकपछि सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले निर्णयबारे जानकारी दिएका हुन् ।
यसैगरी, नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णय गरिएको छ । उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरिएको छ ।




