काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गणेशराज पोखरेलले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता, बोनसलगायत शीर्षकमा १ करोड ९० लाख २२ हजार ८ सय ५१ रुपैयाँ पारिश्रमिक बुझेका छन्।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदनअनुसार पोखरेलले उक्त अवधिमा तलबबापत ८४ लाख रुपैयाँ बुझेका छन्। त्यस्तै, भत्ताबापत ५४ लाख, दसैँ भत्ताबापत ११ लाख ५० हजार, सञ्चयकोष योगदानबापत ४ लाख ८० हजार र बिदा भुक्तानीबापत ७ लाख रुपैयाँ पाएका छन्।
अन्य शीर्षकमा ४२ हजार रुपैयाँ प्राप्त गरेका पोखरेलले बोनस तथा कल्याणकारी कोषबाट २४ लाख ९० हजार ८ सय ५१ रुपैयाँ लिएका छन्। यी सबै रकम जोड्दा उनको वार्षिक कुल पारिश्रमिक १ करोड ९० लाख २२ हजार ८ सय ५१ रुपैयाँ पुगेको हो।
बैंकले वार्षिक प्रतिवेदनमार्फत सञ्चालक तथा अन्य कार्यकारी पदाधिकारीले प्राप्त गरेको पारिश्रमिक तथा सुविधाको विवरण पनि सार्वजनिक गरेको छ। सञ्चालकहरूले बैठक भत्ताबापत एक वर्षमा कुल २६ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रमुख कार्यकारी अधिकृतबाहेक अन्य कार्यकारी पदाधिकारीको तलब, भत्ता, दसैँ भत्ता, सञ्चयकोष योगदान, बिदा भुक्तानी तथा अन्य सुविधाको विवरण पनि बैंकले छुट्टाछुट्टै सार्वजनिक गरेको छ।




