काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १३ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ।
कम्पनीका संस्थापक शेयरधनी नवराज अधिकारीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो।
कम्पनीले अधिकारीको स्वामित्वमा रहेको १३ हजार कित्ता संस्थापक शेयर हाल विद्यमान संस्थापक शेयरधनीका लागि मात्र बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्थाअनुसार उनीहरूका लागि मात्रै शेयर खरिदको अवसर खुला गरिएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित व्यवस्थाअनुसार उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।




