काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः ठूलो रकम तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट आज पनि ३० अर्ब रुपैयाँ खिच्न लागेको हो।
राष्ट्र बैंकले असोज २१ गतेका लागि २८ दिने निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँको बोलकबोल आह्वान गरेको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको उपलब्धता बढ्दै गएपछि केन्द्रीय बैंकले पटक–पटक निक्षेप संकलनमार्फत तरलता प्रशोचन गर्दै आएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ।
निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले संकलन गर्ने उक्त ३० अर्ब रुपैयाँको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिनेछ। बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा कर्जा प्रवाह अपेक्षाकृत कमजोर हुने र अन्तरबैंक ब्याजदरसमेत दबाबमा पर्ने भएकाले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत अतिरिक्त तरलता खिच्दै आएको हो।




