काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको बताएका छन्।
अर्थ मन्त्रालयमा मंगलबार ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको बताए।
उनका अनुसार बैंक तथा वित्तीय संस्थामा हाल करिब १४–१५ खर्ब रुपैयाँ अतिरिक्त तरलता रहेको छ। उक्त स्रोतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु अहिलेको प्रमुख चुनौती बनेको उनले बताए।
ज्ञवालीले सरकार निजी क्षेत्र, बैंकिङ प्रणाली र उद्यमी–व्यवसायीसँगको सहकार्यमार्फत उपलब्ध वित्तीय स्रोतलाई उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा केन्द्रित गर्न चाहेको बताए। आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, उत्पादनशील क्षेत्रमा लगानी विस्तार तथा बाह्य क्षेत्र सन्तुलनका विषयमा पनि छलफल भएको उनले जानकारी दिए।
अर्थमन्त्रीले यसअघि उत्पादनमूलक उद्योगका प्रतिनिधिसँग पनि छलफल गरिसकेको उल्लेख गर्दै उनले सोही क्रममा प्राप्त सुझावका आधारमा बैंकिङ क्षेत्रसँग परामर्श गरिएको बताए।
ज्ञवालीका अनुसार अर्थमन्त्रीले नीतिगत, कानुनी वा प्रशासनिक अवरोध भए सरकारलाई सुझाव दिन आग्रह गर्दै आवश्यक सुधारका लागि सरकार सकारात्मक रहेको सन्देश दिएका छन्। उनले सरकारको यस्तो संवादमूलक पहलले निजी क्षेत्र र सरकारबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने बताए।
उनले हाल बैंकिङ क्षेत्रमा करिब ८२ खर्ब रुपैयाँ निक्षेप रहेको उल्लेख गर्दै मुलुकको आर्थिक वृद्धिका लागि सरकारी पुँजीगत खर्च मात्र पर्याप्त नहुने बताए। बैंकिङ क्षेत्र, निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित सबै उपलब्ध स्रोत परिचालन गरेर मात्रै उच्च आर्थिक वृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो।
प्रधानमन्त्री र अर्थमन्त्रीले विभिन्न क्षेत्रका उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै ज्ञवालीले सहकार्यका आधारमा आर्थिक विकासलाई अघि बढाउने सरकारको प्रयास सकारात्मक रहेको बताए।




