काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्।

उनले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले देशमा भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको घटनाले जेनजी आन्दोलनलाई समेत झल्काएको बताए।

उनले भने, ‘देशमा जुन साम्प्रदायिक द्वन्द्व भयो, घटना घट्यो, यसले जेनजी आन्दोलनलाई पनि झल्काउँछ । भारतमा पनि जेनजी आन्दोलन भयो । त्यत्तिका मानिस बाहिर निस्कँदा पनि एक सय एक हतियार भएको देशमा एक जनाको ज्यान गयो । तर हाम्रो देशमा सानो साम्प्रदायिक झडपमा अन्धाधुन्ध गोली चल्छ र मृत्यु हुन्छ । यसको जिम्मा कसले लिन्छ, प्रधानमन्त्री वा सरकारले जिम्मा लिनुहुन्छ त ? भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेका छन् । यही घटनामा पनि जेनजीको ज्यान गएको छ । जेनजी आन्दोलन र यो आन्दोलन कसरी फरक भयो त ?’

उनले सुरक्षा व्यवस्थापनका नाममा प्रहरीलाई एसएलआर बोकेर पठाउने र सामान्य घटनामै नेपाली सेनालाई जङ्गी अड्डाबाट परिचालन गर्ने प्रवृत्ति उचित नभएको बताए । उनले वर्तमान सरकारले सेनालाई सस्तो बनाएको आरोप समेत लगाए ।

उनले भने, ‘यत्रो द्वन्द्वबाट आएको सरकारले सिकेको छैन भने सिक्न आग्रह गर्दछु । द्वन्द्व नियन्त्रण गर्न एसएलआर लिएर प्रहरीलाई पठाउने होइन । अझ सस्तो तरिकामा सेनालाई जङ्गी अड्डाबाट बाहिर निकाल्ने होइन । सेनालाई यति सस्तो बनाइयो कि सानो घटनामा पनि जङ्गी अड्डाबाट सेना निस्कन्छ भने सेनाको जुन वर्चस्व आजको दिनसम्म थियो, त्यो भोलि रहँदैन। जुन दिन सेनाप्रतिको विश्वास मानिसबाट हटाइन्छ, त्यसपछिको द्वन्द्व गर्ने मानिसले सेनादेखि डराउँदैनन् । सायद अलिकति दीर्घकालीन सोच राख्ने सरकार भएको भए सेनालाई यति सस्तो पार्ने थिएन ।’

राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै ढुंगानाले मधेशका मुद्दा उठाउने नेतामध्ये अमरेश कुमार सिंह मात्रै निरन्तर सक्रिय रहेको दाबी गरे ।