कांग्रेसको चार वर्षको आम्दानी २५ करोडभन्दा बढी, खर्च ३४ करोड नाघ्यो

काठमाडौँ। नेपाली कांग्रेसले चार आर्थिक वर्षमा २५ करोड २१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । तर, यही अवधिमा पार्टीको खर्च भने ३४ करोड ६९ लाख रुपैयाँभन्दा बढी भएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म पार्टीको आम्दानी र खर्चमा उल्लेख्य उतारचढाव देखिएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा कांग्रेसले १४ करोड ८९ लाख ९४ हजार ८६ रुपैयाँ आम्दानी गर्दा १७ करोड ९० लाख ७८ हजार २२१ रुपैयाँ खर्च गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा पार्टीको कुल आम्दानी ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ र खर्च ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पार्टीको आम्दानी २ करोड ५९ लाख ८७ हजार ७७५ रुपैयाँ र खर्च ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ रहेको थियो । २०८१/८२ मा भने आम्दानी ३ करोड ८८ लाख १० हजार ६३२ रुपैयाँ र खर्च ३ करोड ८६ लाख ८३ हजार ७७६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसको आम्दानीका प्रमुख स्रोतमा सदस्यता, लेवी तथा नवीकरण शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री र लगानीबाट प्राप्त आम्दानी रहेका छन् । चार वर्षमा सदस्यता, लेवी तथा नवीकरण शुल्कबाट ११ करोड ३८ लाख ४ हजार ५१९ रुपैयाँ तथा चन्दा र सहयोगबाट १२ करोड ६७ लाख ५ हजार १७ रुपैयाँभन्दा बढी आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८१र८२ मा सदस्यता, लेवी तथा नवीकरण शुल्कबाट २ करोड ६५ लाख ४२ हजार ५५ रुपैयाँ आम्दानी भएको थियो। सोही वर्ष चन्दा तथा सहयोगबाट १ करोड १९ लाख १२ हजार १ रुपैयाँभन्दा बढी प्राप्त भएको थियो।

पार्टीको ठूलो खर्च निर्वाचन, अधिवेशन तथा सम्मेलन र कार्यालय सञ्चालनमा भएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा अधिवेशन तथा सम्मेलनमा मात्रै १२ करोड २१ लाख ९७ हजार ७०७ रुपैयाँ खर्च भएको थियो । सोही वर्ष निर्वाचनतर्फ १ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ खर्च भएको उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० मा निर्वाचनमा ३ करोड ८८ लाख ५७ हजार ९९३ रुपैयाँ खर्च भएको थियो। उक्त वर्ष कार्यालय सञ्चालनमा ३ करोड २२ लाख ५० हजार ४३२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८०/८१ मा कार्यालय सञ्चालन खर्च ४ करोड ५४ लाख ६७ हजार ९०० रुपैयाँ पुगेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा कार्यालय सञ्चालनका लागि ३ करोड ३५ लाख ३१ हजार ७०७ रुपैयाँ खर्च भएको थियो।

चार वर्षको लेखापरीक्षित विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक व्यवस्थापनलाई पारदर्शी, जिम्मेवार र संस्थागत बनाउनुपर्नेमा जोड दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *