काठमाडौं। एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक एप्पल पे र गुगल पे मार्फत भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ई-कमर्स पेमेन्ट गेटवे प्रयोग गर्ने नेपाली व्यवसायी तथा ग्राहकले अब एप्पल पे, गुगल पे, भिसा र मास्टरकार्ड लगायतका माध्यमबाट डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन्।
यस सेवाका लागि बैंकले साइबरसोर्स पेमेन्ट गेटवे प्रयोग गरेको जनाएको छ। बैंकका अनुसार नयाँ सुविधाले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र आधुनिक बनाउन सहयोग पुग्नेछ।
एप्पल पे तथा गुगल पे प्रयोगकर्ताले मोबाइल वा अन्य विद्युतीय उपकरणमार्फत कार्डको विवरण प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्। विशेषगरी अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित होटल, रेस्टुरेन्ट, ट्राभल, पर्यटन तथा ई–कमर्स व्यवसायमा यस सेवाबाट सहज भुक्तानीको सुविधा पुग्ने बैंकको अपेक्षा छ।
बैंकले पर्यटन आतिथ्य यात्रा ई-कमर्स, आदिसहितका व्यवसायमा अन्तर्राष्ट्रिय ग्राहकबाट हुने भुक्तानीलाई सहज बनाउन यो सेवा महत्वपूर्ण हुने जनाएको छ।
एनआईसी एशिया बैंकका अनुसार यस प्रकारको भुक्तानी सेवाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीसँग जोडिन सहयोग गर्नुका साथै नेपालमा डिजिटल भुक्तानीको पहुँच र प्रयोग थप विस्तार गर्ने अपेक्षा गरिएको छ।




