बीवाईडीको डिलर इको ड्राइभको कारोबार बढ्यो, नाफा मार्जिन भने झन् खुम्चियो

काठमाडौं । बीवाईडीको आधिकारिक डिलर इको ड्राइभ अटोमोबाइल्स प्रालिको कारोबार केही बढे पनि त्यसअनुसार नाफा बढ्न सकेको छैन । विद्युतीय सवारीसाधनको बजार विस्तार र बिक्री संख्या बढिरहेका बेला कम्पनीको सञ्चालन नाफा मार्जिन भने लगातार घट्दै गएपछि प्रतिस्पर्धा, मूल्य दबाब र वित्तीय लागतको असर देखिएको हो ।

कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को ९७ करोड ४० लाख रुपैयाँबाट बढेर आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । एक वर्षमा आम्दानी करिब ८ प्रतिशत बढे पनि कम्पनीको कारोबार अझै दुई वर्षअघिको स्तरमा पुग्न सकेको छैन । आर्थिक वर्ष २०८०/८१ मा इको ड्राइभको सञ्चालन आम्दानी १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ थियो ।

बिक्री संख्यामा भने पछिल्लो वर्ष सुधार आएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा २ सय ६८ वटा सवारीसाधन बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्ष २ सय २२ वटा बिक्री गरेको कम्पनीले एक वर्षमा बिक्री संख्या ४६ वटाले बढाएको हो । तर बिक्री बढे पनि त्यसको प्रभाव कम्पनीको नाफामा देखिएको छैन ।

कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अन्य समायोजनअघिको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८०/८१ मा ३.०३ प्रतिशत थियो । त्यसको अर्को वर्ष १.७३ प्रतिशतमा झरेको मार्जिन आर्थिक वर्ष २०८२/८३ मा अझ खुम्चिएर ०.८० प्रतिशतमा सीमित भएको छ । अर्थात् दुई वर्षमै सञ्चालन नाफा मार्जिन ३.०३ प्रतिशतबाट ०.८० प्रतिशतमा झरेको हो ।

केयर रेटिङ्स नेपालका अनुसार नेपालमा विद्युतीय तथा परम्परागत दुवै सवारीसाधनको बजारमा बढ्दो प्रतिस्पर्धा र मूल्यमा आएको दबाबले कम्पनीको नाफा मार्जिन प्रभावित भएको हो । पछिल्लो समय विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधन नेपाली बजारमा थपिँदै गएपछि ग्राहक तान्न मूल्य तथा अन्य सुविधा केन्द्रित प्रतिस्पर्धा बढेको छ । त्यसको असर डिलरको मार्जिनमा परेको रेटिङ एजेन्सीको विश्लेषण छ ।

इको ड्राइभ सन् २०२१ अक्टोबर १९ मा स्थापना भएको निजी कम्पनी हो । प्रकाशवीर सिंह तुलाधर अध्यक्ष रहेको कम्पनीले नेपालमा बीवाईडीका विद्युतीय यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक साइमेक्स इन्क प्रालिसँगको डिलर सम्झौताअन्तर्गत इको ड्राइभले कारोबार गरिरहेको छ । कम्पनीले ललितपुर र धादिङलाई आफ्नो बिक्री क्षेत्र बनाएको छ ।

डिलर व्यवसायमा कम्पनीका लागि कार्यशील पुँजीको आवश्यकता पनि ठूलो चुनौतीका रूपमा देखिएको छ । सवारीसाधन खरिदका लागि अग्रिम भुक्तानी वा घरेलु प्रतीतपत्रमार्फत रकम व्यवस्थापन गर्नुपर्ने भएकाले ठूलो रकम कारोबारमै अड्किने गरेको छ । आयातमा निर्भर व्यवसाय भएकाले बिक्री कक्षमा प्रदर्शनका लागि सवारीसाधन राख्नुका साथै ग्राहकको मागअनुसार मौज्दात कायम राख्नुपर्ने बाध्यता कम्पनीसँग छ ।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधाका लागि ‘केयर–एनपी ए फोर’ रेटिङ पाएको छ । तर कम्पनीको ऋणमा निर्भरता भने पछिल्लो वर्ष थप बढेको छ । समग्र ऋण अनुपात आर्थिक वर्ष २०८१/८२ मा १.०६ गुणा रहेकामा आर्थिक वर्ष २०८२/८३ मा बढेर १.६६ गुणा पुगेको छ । यसले कम्पनीमाथिको वित्तीय भार बढ्दै गएको देखाउँछ ।

कम्पनीको चालु अनुपात भने आर्थिक वर्ष २०८०/८१ मा १.१० गुणा थियो । आर्थिक वर्ष २०८१/८२ मा १.१९ गुणा पुगेको यो अनुपात पछिल्लो वर्ष केही घटेर १.१६ गुणामा आएको छ । कारोबार र बिक्रीमा सुधार देखिए पनि नाफा मार्जिनको निरन्तर संकुचन तथा बढ्दो ऋण निर्भरताले इको ड्राइभको वित्तीय अवस्थामा दबाब कायम रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *