काठमाडौं । चाडपर्व नजिकिएसँगै सवारी साधन दर्ताको चाप बढेपछि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीले भोग्नुपरेका समस्या समाधान गर्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पहल थालेको छ। नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी दर्तामा देखिएका समस्याबारे छलफल गरेको हो।
नाडाले सीमित जनशक्तिका कारण यातायात व्यवस्था कार्यालयमा सवारी दर्तासम्बन्धी काम समयमै सम्पन्न हुन नसकेको जनाएको छ। चाडपर्वको समयमा नयाँ सवारी साधनको कारोबार र दर्ताको चाप थप बढ्ने भएकाले सेवाग्राही तथा कम्पनीका प्रतिनिधिले लामो समय कुर्नुपर्ने अवस्था रहेको नाडाको भनाइ छ।
महासचिव मल्लले सवारी दर्ताका लागि आवश्यक कागजात कम्पनीका प्रतिनिधिले तयार गरी कार्यालयमा पेस गर्ने तथा प्रक्रियामा सहजीकरण गर्ने भए पनि कार्यालयभित्रको नियमित प्रक्रिया र कर्मचारीमाथिको कार्यचापका कारण काम सम्पन्न हुन बढी समय लाग्ने गरेको बताए।
उनले सेवाग्राहीको चापलाई ध्यानमा राख्दै तत्काल आवश्यक समन्वय र सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारी पौडेलसँग आग्रह गरे।
छलफलमा नाडाका सचिव तथा टु ह्विलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग पनि नाडाको प्रतिनिधिमण्डलले भेट गरी सवारी दर्तामा देखिएका समस्या समाधानबारे छलफल गरेको जानकारी दिए।
नाडा प्रतिनिधिमण्डलसँगको छलफलमा प्रमुख जिल्ला अधिकारी पौडेलले सवारी दर्तासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग आवश्यक छलफल र समन्वय गर्ने प्रतिबद्धता जनाए।
भेटमा नाडाका केन्द्रीय कार्यसमिति सद




