काठमाडौं । सानिमा बैंक लिमिटेडका कम्पनी सचिव रुद्र बन्जाराले बैंककै एक साधारण शेयरधनीलाई धम्की दिएको बिषय सार्वजनिक भएको छ। सचिव बन्जाराले शेयरधनी अंगराज भारतीले माग गरेको सूचना दिन अस्वीकार गरेको र उल्टै हातखुट्टा भाँचिदिने धम्की दिएको आरोप लगाएका छन्।
बैंकको वार्षिक साधारण सभामा शेयरधनीका तर्फबाट उम्मेदवारी दिने तयारी गरिरहेका जुम्लाका भारतीले बैंकका अध्यक्षसमक्ष लिखित निवेदन दिँदै कम्पनी सचिवमाथि कारबाहीको माग समेत गरेका छन्। यो बिषय उनले आज भएको साधारणसभामा समेत खुलाएका छन्।
भारतीका अनुसार बैंकको वार्षिक साधारणसभा तथा निर्वाचनसम्बन्धी केहि जिज्ञासा राख्न भदौ २२ गते साँझ कम्पनी सचिव बन्जाराको मोबाइल नम्बरमा तीनपटक फोन गरेका थिए। सोही क्रममा साँझ ७ः१० बजे करिब २ मिनेट ३० सेकेन्ड, ७ः१४ बजे २० सेकेन्ड र सोही समयमा ३२ सेकेन्ड कुराकानी भएको उनले बताए। कुराकानीका क्रममा कम्पनी सचिव बन्जाराले आफूलाई ‘प्रहरी केस गरी हातखुट्टा भाँचिदिन्छु’ भन्दै धम्की उनको भनाइ छ।
उनले यस बिषयमा बैंकका अध्यक्षलाई समेत लिखित जानकारी गराएका छन्। उक्त कुराकानीको आवाजको रेकर्ड प्रमाणका रूपमा रहेको दाबी गर्दै आवश्यक परे नेपाल टेलिकमबाट समेत विवरण माग गरी सत्यतथ्य छानबिन गर्न भारतीले बैंक अध्यक्षलाई निवेदनमार्फत आग्रह गरेका छन्।
उजुरीमा भनिएको छ,- ”सानिमा बैंकले २०८३ असोज १२गते गर्ने साधारण सभामा हुने निर्वाचनको लागि मैले उम्मेदवारी दिने सोच बनाएकोले सो को तयारी अनुरूप चुनावी तथा साधारण सभा सम्बन्धी केहि जिज्ञाषा भएकोले २०८३ भदौ २ गते साँझ (७: १० मा २ मिनेट ३० सेकेण्ड, ७.१४ मा २० सेकेण्ड र ७: १४ मा ३२ सेकेण्ड) सानिमा बैंकको सचिवको मोबाइल नं. ९८५१०९०६५१ मा मेरो मो नम्बर ९८५१३११२११ बाट फोन गरेको थिएँ । तीन पटकसम्म मेरो कुराकानी भयो । कुराकानी गर्ने क्रममा कम्पनी सचिवले मलाई पुलिस केश गरी हात खुट्टा भाँचीदिन्छु भनि धम्की दिनु भएको थियो । हात खुट्टा भाँची दिन्छु भनेको भ्वाईस रेकर्ड प्रमाणको रुपमा व्यक्षले नेपाल टेलीकमसँग माग गर्न सक्नु हुनेछ ।”
उनले बैंकको महत्त्वपूर्ण एवम अति संवेदनशील जिम्मेवारीमा रहेका कम्पनी सचिवबाटै धम्की दिइएको घटनाको छानबिन गरी कारबाही गर्न र त्यसको जानकारी आफूलाई समेत दिन माग गरेका छन्।
बैंकका अध्यक्षलाई सम्बोधन गरिएको निवेदनको बोधार्थ नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सांसद ज्ञानेन्द्र शाही, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त, काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा नेपाल बैंकर्स संघका अध्यक्षलाई समेत दिइएको छ।
यस सम्बन्धमा बुझ्न हामीले सचिव बन्जारालाई सम्पर्क गर्यौँ। तर, उनले जवाफ दिन चाहेनन्।




