काठमाडौं । बाढी पहिरोका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुग्दा ६ सय मेगावाट भन्दा बढी विद्युत् प्रणालीबाट बाहिर भएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढी र असोज ८ गतेदेखि परेको वर्षका कारण विभिन्न ठाउँका जलविद्युत आयोजनाहरूमा क्षति पुगेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बाढी पहिरोका कारण विभिन्न जलविद्युत केन्द्रहरूमा संरचनात्मक क्षति पुग्दा नेपालको विद्युत् प्रणालीबाट कुल ६२० मेगावाट विद्युत् उत्पादन बाहिरिएको हो ।
‘भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध भएको छ । पछिल्लो समय आएको बाढीले १९० मेगावाटमा विद्युत् उत्पादन बाहिरिएको छ’, प्रवक्ता राजन ढकालले भने, ‘क्षति पुगेका केही आयोजनाहरू मर्मतपछि सञ्चालनमा आएका छन् भने केहीको मर्मत कार्य भइरहेको छ ।’
विद्युत् गृहहरूमा बाढीले क्षति पुर्याउँदा विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीहरूतर्फ मात्रै प्रारम्भिक अनुमान अनुसार करिब ७४ अर्ब बराबरको भौतिक तथा आर्थिक क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ बताए ।
उनका अनुसार भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशुली ३बी २२० के.भी. हबमा ठूलो क्षति पुगेको छ । यसका साथै हब र प्रसारण लाइनमा पुगेको क्षतिका कारण त्यस क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न सकिएको छैन ।
बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने क्रम जारी रहेतापनि सडक र पहुँच मार्गहरू अवरुद्ध भएकाले मर्मत तथा सुचारु गर्ने कार्यमा प्राविधिकहरूलाई चुनौती थपिएको उनले बताए । प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत गरी यथाशक्य छिटो विद्युत् सुचारु गराउन प्राविधिक टोली खटाएर काम गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार प्राधिकरणको सहायक कम्पनी मार्फत प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा समेत पहिरो पसेको छ । उक्त संरचना सफा गरी आयोजना सञ्चालनमा ल्याउन करिब ९० दिन लाग्ने अनुमान गरिएको छ । स्विचयार्डको अवस्था भने सामान्य रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् प्रसारण हुन नसक्दा ७ वटा जलविद्युत् आयोजनाको करिब १ सय ९० मेगावाट उत्पादन प्रणालीमा जोडिन सकेको छैन ।
राहुघाट सबस्टेसनमा कनेक्सन भए पनि बाढीका कारण अवरुद्ध भएको अवस्थामा प्राधिकरणको सहायक कम्पनीको ४० मेगावाट राहुघाट जलविद्युत् आयोजना बाहेक १ सय २७ मेगावाट उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको श्रेष्ठले बताए ।
हाल बाढी तथा संरचनामा भएको क्षतिका कारण ६ वटा विद्युत् आयोजना गरी २ सय ३० मेगावाट क्षमता प्रणालीबाट बाहिर रहेको प्राधिकरणको विवरण छ । तर, सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध २ सय ६२ मेगावाट क्षमताका जलविद्युत् आयोजना पुन: सञ्चालनमा आएका छन् । त्यस्तै मर्स्याङ्दी करिडोरमा अवरुद्ध १ सय ९० मेगावाट क्षमताका आयोजना पनि सञ्चालनमा आइसकेका छन् ।
बाढीका कारण अवरुद्ध १ सय ४४ मेगावाट कालीगण्डकी जलविद्युत् केन्द्र पनि सोमबार बेलुकासम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।
बाढीका कारण प्रसारण संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । कालीगण्डकी करिडोर अन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीको दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
क्षतिग्रस्त स्थानसहित अन्य ठाउँमा समेत निरीक्षण गर्न प्राविधिक टोली परिचालन गरिएको र विस्तृत क्षति विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ । बाढीका कारण केही दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएका जिल्लामा म्याग्दी, बागलुङ, तनहुँ झापुटार सबस्टेसन क्षेत्र, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, प्युठान र रोल्पा थिए ।
प्राधिकरणका अनुसार म्याग्दी, बागलुङ, तनहुँ झापुटार सबस्टेसन क्षेत्र र पूर्वी रुकुममा विद्युत् आपूर्ति पुन: सुरु भइसकेको छ । मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अपराह्नसम्म विद्युत् आपूर्ति सुरु गर्ने तयारी छ भने मनाङमा भोलिसम्म आपूर्ति पुन: सञ्चालन गर्ने योजना छ ।




