कोरला नाकामा असोजमै हिमपात, राती १२ घण्टा यातायात सञ्चालनमा रोक

मुस्ताङ । देशका अधिकांश भूभागमा अविरल वर्षाले जनजीवन प्रभावित भइरहेका बेला हिमाली जिल्ला मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाकामा असोजमै हिमपात भएको छ। समुद्री सतहदेखि करिब ४ हजार ६ सय मिटरभन्दा बढी उचाइमा रहेको कोरला नाका तथा आसपासका क्षेत्रमा शुक्रबार हल्का वर्षासँगै हिमपात भएको हो।

हिमपातसँगै उच्च हिमाली क्षेत्रमा चिसो बढेको छ। लोमान्थाङदेखि कोरला नाकासम्मका उच्च भूभागमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्लाका अन्य क्षेत्रमा भने वर्षा भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए।

हालसम्म हिमपातका कारण कुनै अप्रिय घटना वा दुर्घटना भएको सूचना नआएको प्रहरीले जनाएको छ। तर मौसम थप प्रतिकूल बने सडकमा सवारी सञ्चालन तथा उच्च हिमाली क्षेत्रमा आवतजावत जोखिमपूर्ण हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

राति बेनी–जोमसोम–कोरला सडक बन्द

मौसम प्रतिकूल बनेपछि बेनी–जोमसोम–कोरला सडकमा रातिको यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले म्याग्दी र मुस्ताङको सीमास्थल काभ्रेभिरदेखि कोरला नाकासम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको हो।

वर्षा र हिमपातका कारण बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि रातिको समयमा यातायात रोकिएको प्रशासनले जनाएको छ।

मौसम पूर्वानुमानअनुसार वर्षा र हिमपातको सम्भावना कायमै रहेकाले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। उच्च लेकका पदमार्ग तथा हिमाली क्षेत्रमा समेत मौसम प्रतिकूल रहेकाले पर्यटक र यात्रुलाई मौसमको अवस्था बुझेर तथा आवश्यक पूर्वसूचना लिएर मात्रै यात्रा गर्न भनिएको छ।

नाकामा बढेको व्यापारिक चापबीच हिमपात

कोरला नाकामा यसपटकको हिमपात मौसमका दृष्टिले मात्रै नभई व्यापारिक गतिविधिका हिसाबले पनि महत्वपूर्ण बनेको छ। रसुवागढी–केरुङ नाका बाढीबाट क्षतिग्रस्त भएपछि र तातोपानी नाका पनि प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने ठूलो परिमाणको मालसामान कोरला नाकातर्फ मोडिएको छ।

भदौ अन्तिम साताको बाढीपछि कोरला नाकामा मालवाहक कन्टेनरको चाप उल्लेख्य रूपमा बढेको छ। सामान्य अवस्थामा दैनिक पाँच–छ वटा कन्टेनर व्यवस्थापन गर्दै आएको मुस्ताङ भन्सारले पछिल्लो समय बढेको व्यापारिक चाप सामना गरिरहेको छ।

यही समयमा उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएपछि चीनबाट आउने मालवाहक सवारीको आवतजावत थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ। सडक चिप्लिने, दृश्यता घट्ने तथा अत्यधिक चिसोका कारण सवारी सञ्चालनमा समस्या आउन सक्ने जोखिम छ।

नेपाल मौसम विज्ञान विभागले पनि शुक्रबार देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना तथा मौसमी विपद्का जोखिमबारे सूचना जारी गरेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो भूभागमा वर्षा भइरहेकाले कोरला नाका हुँदै यात्रा गर्ने यात्रु, व्यापारी तथा मालवाहक चालकलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *