त्रिशूलीमा ज्यान गुमाएका प्राधिकरण कर्मचारीका परिवारलाई ५ लाख राहत, ६ महिनासम्म आधा तलब

काठमाडौं । सरकारले त्रिशूली नदीमा आएको बाढीका क्रममा ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभामा बाढीपछिको अवस्थाबारे जानकारी दिँदै पीडित कर्मचारीका परिवारलाई ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णयसमेत भएको बताए।

मन्त्री श्रेष्ठका अनुसार राष्ट्रसेवाका क्रममा ज्यान गुमाएका तथा सम्पर्कविहीन कर्मचारीका परिवारलाई दिइने रकम पीडाको क्षतिपूर्ति नभई दुःखको घडीमा राज्यको साथ र जिम्मेवारीको प्रयास हो।

त्यस्तै, बाढीबाट प्रभावित विद्युत् ग्राहकलाई आर्थिक भारबाट राहत दिन भदौदेखि न्यूनतम बिलिङ नगर्ने निर्णय गरिएको उनले जानकारी दिए। बाढीका कारण क्षतिग्रस्त भएका विद्युत् मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत् सेवा लिन चाहने ग्राहकलाई निःशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णयसमेत भएको उनले बताए।

बाढीबाट प्रभावित १५ पालिकाका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत दिन सकिने विषयमा समेत अध्ययन भइरहेको मन्त्री श्रेष्ठले संसदलाई जानकारी दिए।

सरकारले बाढीका कारण प्रभावित कर्मचारीका परिवार तथा विद्युत् उपभोक्तालाई तत्काल राहत र सेवा पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *