भोटेकोशी–त्रिशूली बाढीले तहसनहस ऊर्जा क्षेत्र, पुनरुत्थानमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभाको बैठकमा बाढीपछिको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिँदै ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन गरिएको बताए।

गत भदौ १० गते आएको बाढीका कारण भोटेकोशी–त्रिशूली नदी प्रणालीमा रहेका जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना र नवीकरणीय ऊर्जा प्रणालीमा ठूलो क्षति पुगेको उनले बताए ।

मन्त्री श्रेष्ठका अनुसार भोटेकोशी–त्रिशूली नदी प्रणालीमा नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् । बाढीअघि सञ्चालनमा रहेका सातवटा जलविद्युत् आयोजना र एउटा सोलार आयोजनामा क्षति हुँदा करिब २७५ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।

त्यस्तै १३५ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति नभए पनि प्रसारण लाइनमा क्षति पुगेका कारण उत्पादन बन्द रहेको उनले संसदलाई जानकारी दिए । यसरी विपद्का कारण कुल ४१० मेगावाट विद्युत् राष्ट्रिय विद्युत् प्रणालीभन्दा बाहिर रहेको छ ।

बाढीले ५०८ मेगावाट क्षमताका ६ वटा निर्माणाधीन जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

प्रसारणतर्फ त्रिशूलीस्थित २२० केभी त्रिशूली–थ्री बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको मन्त्री श्रेष्ठले बताए । मातातीर्थ–चिलिमे २२० केभी हब अवरुद्ध हुनुका साथै १३२ केभीको त्रिशूली–थ्री बी हब–मातातीर्थ प्रसारण लाइन र ६६ केभीको चिलिमे–मातातीर्थ प्रसारण लाइनमा पनि क्षति पुगेको उनले बताए ।

चिलिमे स्विच यार्ड, माथिल्लो त्रिशूली–थ्री ए स्विच यार्ड, देवीघाट स्विच यार्ड तथा वितरण लाइन र पोललगायतका संरचनामा समेत ठूलो क्षति पुगेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *