काठमाडौं । भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट भएको क्षतिको प्रारम्भिक बिमा दाबी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । बाढीबाट भएको क्षतिको दाबी रकमले बीमा कम्पनीहरूमा ठूलो वित्तीय दायित्व सिर्जना हुने देखिएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा बीमा कम्पनीमार्फत ५ सय ८३ बीमितले २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी गरेका हुन् । यो क्षतिको प्रारम्भिक अनुमानमा आधारित रकम भएकाले बीमा कम्पनीहरूले स्थलगत निरीक्षण, कागजात तथा क्षतिको मूल्यांकन गरेपछि वास्तविक दाबी रकममा परिवर्तन हुन सक्नेछ ।
प्रारम्भिक विवरणमा सबैभन्दा ठूलो दाबी द ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीका ८ बीमितले मात्रै १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको दाबी गरेका छन् । अर्थात् कुल प्रारम्भिक दाबीको करिब आधा रकम एउटै कम्पनीमार्फत परेको देखिन्छ । यसले भोटेकोसी बाढीबाट ठूला औद्योगिक तथा व्यावसायिक सम्पत्तिमा भएको क्षति गम्भीर रहेको संकेत गर्छ ।
युनाइटेड अजोड इन्स्योरेन्समा ३८ बीमितले ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ बराबरको दाबी गरेका छन् । त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा १ सय २ बीमितको २ अर्ब १० करोड २८ लाख ७२ हजार र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमितको १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ ।
शिखर इन्स्योरेन्समा भने सबैभन्दा धेरै १ सय २७ बीमितले दाबी गरेका छन् । उनीहरूको दाबी रकम १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ छ । हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ बीमितको ६४ करोड ७८ लाख २० हजार र नेको इन्स्योरेन्समा ६६ बीमितको ५१ करोड ७० लाख ३७ हजार रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।
दाबी गर्ने बीमितको संख्या र दाबी रकमबीच ठूलो अन्तर देखिन्छ । ५ सय ८३ बीमितले दाबी गरे पनि केही ठूला दाबीले कुल रकमलाई उल्लेख्य रूपमा बढाएका छन् । विशेषगरी द ओरियन्टल इन्स्योरेन्समा परेको १३ अर्बभन्दा बढीको दाबीले बाढीबाट ठूला सम्पत्ति तथा परियोजनामा भएको क्षतिको प्रभाव देखाएको छ ।
तर, हाल सार्वजनिक भएको रकमलाई तत्कालै बीमा कम्पनीहरूले भुक्तानी गर्नुपर्ने अन्तिम दायित्वका रूपमा भने लिन मिल्दैन । बीमा कम्पनीहरूले दाबीको परीक्षण र क्षतिको मूल्यांकन गरेपछि मात्रै वास्तविक भुक्तानी रकम यकिन हुनेछ । त्यसपछि मात्रै बाढीबाट बीमा क्षेत्रले व्यहोर्नुपर्ने वास्तविक वित्तीय भार स्पष्ट हुने देखिएको छ।





