आवास कर्जामा बैंकहरूबीच कडा प्रतिस्पर्धा: न्युनतम ब्याजदर ४.९५ प्रतिशत, कुनमा कति ?

काठमाडौं । घर तथा जग्गा खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आवास कर्जामा ब्याजदर घटाएर प्रतिस्पर्धा बढाएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी नवौं नेपाल ल्याण्ड, हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो २०२६ मा वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाले विभिन्न योजना अघि सार्दै आवास कर्जा बिक्री गरिरहेका छन्।

एक्स्पोमा सहभागी बैंक तथा वित्तीय संस्थाले घर खरिदका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएका छन्। ग्राहक आकर्षित गर्न ब्याजदरमा प्रतिस्पर्धा गरेका बैंकहरूले सेवा शुल्कमा छुट, निश्चित अवधिका लागि स्थिर ब्याजदर तथा बेसरेटमा निश्चित प्रिमियमसहितका योजना सार्वजनिक गरेका छन्।

एक्स्पोमा उपलब्ध योजनामध्ये नेपाल बैंकले ४.९५ प्रतिशत ब्याजदरमा आवास कर्जा उपलब्ध गराइरहेको छ। लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा होम लोनको योजना ल्याएको छ। बैंकका अनुसार ब्याजदरमा परिवर्तन भए पनि बेसरेटमा ०.५ प्रतिशत मात्रै प्रिमियम थप हुने व्यवस्था छ।

प्रभु बैंकले पनि बेसरेटमा ०.५ प्रतिशत प्रिमियम थप गरी होम लोन उपलब्ध गराउने जनाएको छ। स्टान्डर्ड चार्टर्ड बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा आवास कर्जा उपलब्ध गराइरहेको छ। परिवर्तनशील ब्याजदरतर्फ भने ५.४९ प्रतिशतको दरमा कर्जा उपलब्ध रहेको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले ५.९९ प्रतिशत ब्याजदरमा अधिकतम पाँच वर्षसम्मका लागि होम लोन उपलब्ध गराइरहेको छ। महालक्ष्मी विकास बैंकले पनि ५.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराएको छ। मुक्तिनाथ विकास बैंकले बेसरेटमा ०.२५ प्रतिशत प्रिमियम थप गरी जग्गा तथा घर कर्जाको योजना अघि सारेको छ।

घर तथा जग्गा खरिदका लागि कर्जा लिन चाहने ग्राहकले एक्स्पोमै विभिन्न बैंकका ब्याजदर, प्रिमियम, सेवा शुल्क र स्थिर तथा परिवर्तनशील ब्याजदरका विकल्पबारे जानकारी लिन पाउने भएका छन्। यसले ग्राहकलाई एउटै थलोमा विभिन्न बैंकका आवास कर्जा योजनाको तुलना गर्ने अवसरसमेत दिएको छ।

रियल इस्टेट कर्जामा ग्लोबल बैंक अगाडि

आवास तथा रियल इस्टेट क्षेत्रमा बैंकहरूले गरेको कर्जा प्रवाहमा ग्लोबल आईएमई बैंक अगाडि देखिएको छ। उपलब्ध तथ्यांकअनुसार बैंकले आवासीय तथा रियल इस्टेट क्षेत्रमा गरी ६२ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

त्यसपछि दोस्रोमा एनआईसी एशिया बैंकले ५७ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। नबिल बैंकले ५० अर्ब १६ करोड, नेपाल एसबीआई बैंकले ४७ अर्ब ६६ करोड तथा राष्ट्रिय वाणिज्य बैंकले ४४ अर्ब ७६ करोड रुपैयाँ आवास तथा रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेका छन्।

एभरेस्ट बैंकको यस्तो कर्जा ३६ अर्ब ७ करोड, लक्ष्मी सनराइज बैंकको ३७ अर्ब २९ करोड र एनएमबी बैंकको ३१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३१ अर्ब ५१ करोड तथा प्रभु बैंकले ३१ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

अन्य बैंकमध्ये प्राइम कमर्सियल बैंकले ३२ अर्ब १ करोड, नेपाल बैंकले ३० अर्ब १ करोड, सिद्धार्थ बैंकले २६ अर्ब ५५ करोड, सानिमा बैंकले २२ अर्ब ८ करोड र कुमारी बैंकले १८ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

स्टान्डर्ड चार्टर्ड बैंकको आवास तथा रियल इस्टेट कर्जा १७ अर्ब ७७ करोड, हिमालयन बैंकको १७ अर्ब १८ करोड, सिटिजन्स इन्टरनेसनल बैंकको १५ अर्ब २४ करोड र कृषि विकास बैंकको १२ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।

आवास कर्जामा ब्याजदर घट्नुका साथै बैंकहरूले कर्जा रकम, प्रिमियम, सेवा शुल्क र स्थिर ब्याजदरमा समेत विभिन्न विकल्प ल्याएपछि एक्स्पो घर तथा जग्गा खरिदका लागि कर्जा लिन चाहने ग्राहकका लागि बैंकका योजनाबारे जानकारी लिने थलो बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *