नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा लगानीका नयाँ अवसर खोज्ने र विद्यमान लगानी विस्तार गर्ने उपयुक्त समय आएको बताएका हुन्।
नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा बोल्दै वाग्लेले नेपालले उच्च आर्थिक वृद्धिको सम्भावना भएका क्षेत्रमा भारतीय लगानीकर्तालाई आकर्षित गर्न चाहेको बताए।
कार्यक्रममा भारतीय व्यावसायिक नेता तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। अर्थमन्त्री वाग्लेले नेपालमा उदाउँदा लगानीका क्षेत्रबारे जानकारी दिँदै नेपालको आर्थिक रूपान्तरणमा भारतीय निजी क्षेत्रलाई साझेदार बन्न आग्रह गरे।
उनले नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न तथा नयाँ लगानीकर्तालाई नेपाली बजारमा प्रवेश गर्न आह्वान गरे। उनका अनुसार डिजिटल प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यका कृषि उत्पादन, पर्यटन, उत्पादनमूलक उद्योग र अन्य उदीयमान क्षेत्रमा लगानीको ठूलो सम्भावना छ।
वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। नीतिगत सुधारलाई तीव्र बनाउँदै लगानीकर्ताका लागि थप अनुमानयोग्य, पारदर्शी र सहज व्यावसायिक वातावरण निर्माण गर्ने प्रयास भइरहेको उनको भनाइ थियो।
‘डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन साझेदारीमा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्,’ उनले भने, ‘भारतीय व्यवसायीहरूले नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृङ्खलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेरेको चाहन्छौँ।’
उनले वार्षिक बजेट, कर सुधार तथा लगानीकर्ता–मैत्री नीतिगत पहलमार्फत सरकारले व्यावसायिक वातावरण सुधार, लगानीका बाधा हटाउने र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि हासिल गर्ने प्रयास गरिरहेको बताए।
अर्थमन्त्री वाग्लेले लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रलगायत क्षेत्रमा नेपाल–भारत आर्थिक साझेदारी विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गरे। नेपाल र भारतबीचको लामो आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार तथा लगानी विस्तारका लागि बलियो आधार तयार गरेको उनको भनाइ थियो।





