आईपीओ ल्याउने कम्पनीमाथि सेबोनको कडाइ, ३ वर्षको वित्तीय विवरणदेखि वेबसाइटसम्म अनिवार्य

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्काशन गर्न चाहने कम्पनीका लागि नयाँ योग्यता तोक्ने तयारी गरेको छ। बोर्डले ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार पारेको हो।

मस्यौदाअनुसार आईपीओ निष्काशन गर्न चाहने कम्पनीले पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। कम्पनीले आफ्नै तथा निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत यस्तो विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरिएको छ।

कम्पनीले आफ्नो आधिकारिक वेबसाइटसमेत सञ्चालनमा ल्याउनुपर्नेछ। वेबसाइटमा तीन वर्षको वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन, व्यवसायिक सम्भावना र चुनौती, भावी योजना तथा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता, अनुभव र कम्पनीमा रहेको लगानीको विवरण राख्नुपर्नेछ।

त्यस्तै, आईपीओबाट प्राप्त हुने रकम प्रयोगको स्पष्ट योजना साधारणसभाबाट स्वीकृत भएको हुनुपर्नेछ। कम्पनीले लेखापरीक्षण तथा वार्षिक साधारणसभा सम्पन्न गरेको र आवश्यक इजाजत तथा अनुमति प्राप्त गरेको हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

निर्देशिका लागू भएपछि आईपीओका लागि निवेदन दिएका कम्पनीले सेबोनको स्वीकृतिबिना पूँजी संरचना परिवर्तन गर्न नपाउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।

सार्वजनिक निष्काशन गर्नुअघि संगठित संस्थाले निरन्तर व्यवसाय सञ्चालन गरेको हुनुपर्नेछ भने बोर्डले सम्बन्धित क्षेत्रको प्रकृति, जोखिम र पूँजी संरचनालाई ध्यानमा राखी उद्योग वा क्षेत्रगत रूपमा फरक-फरक न्यूनतम अवधि निर्धारण गर्न सक्नेछ। साथै, पूर्वाधार, प्रविधि, अनुसन्धानमा आधारित वा अन्य विशेष प्रकृतिका उद्योगहरूको हकमा बोर्डले आवश्यक शर्तसहित छुट्टै मापदण्ड लागू गर्नेछ।

उक्त मस्यौदा यहाँ क्लिक गरि अध्ययन गर्न सकिन्छः  Click Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *