काठमाडौं । कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य पुनः घटेको छ।
बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि व्यवसायीहरूले वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ढुवानी गर्दा लागत बढेको भन्दै प्रतिसिलिन्डर ग्यासको मूल्य वृद्धि गरेका थिए। अहिले कृष्णभीरमा सडक पुनः सञ्चालनमा आएसँगै ग्यासका बुलेट नियमित रूपमा आउन थालेपछि मूल्य घटाइएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौंका लागि पेट्रोलियम पदार्थ खरिद आदेश (पिएडओ) जारी गरेपछि ग्यासको मूल्य पुरानै अवस्थामा फर्काइएको हो।
‘यसअघि मुख्य बाटो बन्द भएर वैकल्पिक बाटोबाट ढुवानी गर्दा भाडा बढेकाले ग्यासको मूल्य वृद्धि भएको थियो,’ घिमिरेले भने, ‘अहिले कृष्णभीरको बाटो खुलेर ग्यासका बुलेटहरू आउन थालेपछि मूल्य पुनः घटेको छ।’
वैकल्पिक तथा लामो मार्गबाट ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म ढुवानी भाडा समायोजन गरी मूल्य बढाइएको थियो। अब भने उपभोक्ताले पुरानै मूल्य अर्थात् २ हजार ६० रुपैयाँ प्रतिसिलिन्डरमा एलपी ग्यास पाउनेछन्।




