कोशीमा २० लाखभन्दा बढीको जीवन बीमा, २६ अर्ब बीमाशुल्क संकलन

विराटनगर  । कोशी प्रदेशमा जीवन बीमा गर्नेको संख्या २० लाख नाघेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्म प्रदेशमा २० लाख ६३ हजार ७ सय २५ जनाले जीवन बीमा गरेका छन्।

प्राधिकरणका अनुसार कोशी प्रदेशबाट जीवन बीमाबापत २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो मुलुकभर संकलन हुने कुल जीवन बीमाशुल्कको १२ दशमलव ३० प्रतिशत हो।

विराटनगरमा बुधबार आयोजित कार्यक्रममा प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक सचिन राईले प्रदेशमा पशुपन्छी बीमाको पहुँचसमेत विस्तार हुँदै गएको जानकारी दिए। उनका अनुसार असार मसान्तसम्म कोशीमा १९ हजार ९० वटा पशुपन्छी बीमा भएका छन्। निर्जीवन बीमातर्फ भने ४ लाख ४९ हजार ४ सय २७ वटा बीमा गरिएको छ।

प्राधिकरणकी सहायक निर्देशक पुष्पा खनालले मुलुकभर ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेको जानकारी दिइन्। उनका अनुसार १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, दुई वटा पुनर्बीमा र सात वटा लघुबीमा कम्पनी सञ्चालनमा छन्।

कोशी प्रदेशमा बीमा सेवाको विस्तारसँगै कम्पनीका कार्यालयको संख्या पनि बढेको प्राधिकरणले जनाएको छ। प्रदेशभर बीमा कम्पनीका ३ सय ३ वटा कार्यालय सञ्चालनमा छन्। ती कार्यालयमा ७ सय ७१ जना कर्मचारी कार्यरत छन्।

यसैबीच, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले प्रदेशका १ हजार २ सय १७ जना पत्रकारको दुर्घटना बीमा गरिएको जानकारी दिए। उनका अनुसार उक्त बीमाबाट प्रत्येक पत्रकारको १० लाख रुपैयाँसम्मको जोखिम रक्षावरण हुने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *